काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनको तीव्र आलोचना गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्दै उनले कांग्रेस–एमालेले बन्द र अध्यारो कोठामा सहमति गरेको बताए ।
प्रतिनिधि सभाको बेठकमा उनले प्रश्र गरे, ‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न बन्द र अध्यारो कोठा चाहिन्छ ? झुठमुट र कुतर्क । मैले सब भने तपाईँहरुलाई पनि लाज लाग्छ भन्ने मलाईँ डर छ । हाम्रा नेताहरु कतिसम्म झुठ बोल्न सक्नुहुन्छ ? कुतर्कको साहरा र मध्यरात चाहिन्छ र दुईटा दल मिल्नलाई ? मैले त यो पटक नयाँ सरकार बन्दै गर्दा तपाईँहरु मिल्नुहुन्छ भने मिल्नुस् भनेको थिएँ । मेरो लागि कुनै अनौठो छैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले मिल्दा आफूलाई प्रतिगमन र निरंकुशताको चिन्ता रहेको बताएका छन् । पहिलो र दोस्रो ठूला दल मिल्दा जहिले पनि लोकतन्त्र कमजोर बनेको र अधिनायकवादलाई प्रश्रय दिएको उनले बताए । उनले भने, ‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ ।’