काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेलाई डर र भयले जोडेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आज बसेको बैठकमा विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वास र आदर्शले जोडेको भए आफूलाई चिन्ता नहुने बताए । सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको उनले बताए । उनले भने,‘तपाईँहरुलाई डरले जोड्यो, भयले जोड्यो । त्यो डर हो, सुशासनको डर ।’
कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि आफूले विश्वासको मत लिने निर्णय लिएको र विश्वासको मत लिन लागेपछि कांग्रेस र एमालेका नेताहरु डराएको उनले टिप्पणी गरे ।
उनले भने,‘मैले त तदर्थ सरकारको नेतृत्व गरेर एक दिनपनि बस्दिनँ भनेको थिएँ, तयारी गर्नुपर्ने भएकोले १० दिनभित्रै विश्वासको मत लिने कुरा सदनलाई जानकारी गराएको थिएँ । मैले विश्वासको मत मागिरहँदा केही साथीहरु डराउनुभयो र राजीनामा माग्नुभयो । साथीहरुको आपसी विश्वास कमजोर भएर हो कि वा षड्यन्त्र सधैं आँफै कमजोर भएर हो ? तर्सिरहनुभयो ।’