काठमाडौं, २७ असार । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि ४ करोड १३ लाख अमेरिकी डलर बराबर (५ अर्ब ४९ करोड रुपैयाँ) विस्तारित ऋण सुविधा (ईसीएफ) रकम स्वीकृत गरेको छ । बुधबार बसेको कोषको कार्यकारी बोर्डले कर्मचाारी तहबाट भएको चौथो मूल्यांकन प्रतिवेदनका आधारमा नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
चौथो किस्ता प्रदान गर्नुपूर्ण स्थिति मूल्यांकनका लागी गत जेठमा आइएमएफको एसिया प्रशान्त समुहका उप निर्देशक डा. टिडियन किन्डाको नेतृत्वमा नेपालमा मुल्यांकन मिसन आएको थियो । उक्त मिसनले दिएको प्रतिवेदनका आधारमा कार्यकारी सञ्चालक समितले सहयोग निकासा गरेको हो ।
अहिले स्वीकृत भएको यो रकमसहित नेपालले २४ करोड ७७ लाख अमेरिकी डलर ऋण सुविधा पाउन सक्नेछ । यसअघि १२ जनवरी २०२२ मै कोषले नेपाललाई विस्तारित ऋण सुविधाअन्तर्गत कुल ३७ करोड १६ लाख अमेरिकी डलर रकम प्रदान गर्नका लागि अनुमोदन गरेको थियो ।
विस्तारित ऋण सुविधामार्फतका कार्यक्रम कार्यान्वयनमा नेपालले राम्रो प्रगति गरेको उल्लेख गर्दै आईएमएफले चौथो किस्ताको रकम स्वीकृत गरेको जनाएको छ । आर्थिक गतिविधिमा महामारी तथा विश्वव्यापी जोखिमको अवस्थालाई आन्तरिक रुपमा न्यूनीकरणका लागि नेपालले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको कोषले उल्लेख गरेको छ । यो ईसीएफ रकमले नेपाललाई अरु विकास साझेदारहरुबाट थप वित्तीय सहयोग उपलब्ध गराउन सहयोग पुग्ने आईएमएफको भनाइ छ ।
नेपालले आर्थिक सुधार एजेन्डामा महत्त्वपूर्ण प्रगति गरेको उल्लेख गर्दै आईएमएफले मौद्रिक नीति, बैंकिङ नियमनजस्ता माध्यममार्फत कोभिड १९ का असरविरुद्ध प्रभावकारी भूमिका निर्वाह गरेको जनाएको छ । नेपालले ऊर्जा क्षेत्रमार्फत आर्थिक वृद्धिदरको संभावना देखाएको आईएमएफले जनाएको छ ।
कोरोना महामारी तथा पछिल्ला विभिन्न आर्थिक चुनौतीलाई नेपाल सरकारले सम्बोधन गर्नुको साथैं जोखिममा भएका वर्गलाई सहयोग गरिरहेको कोषले जनाएको छ ।