काठमाडौं, २६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस–एमालेबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको जानकारी दिए ।
अध्यक्ष्य ओलीले निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको बताए ।आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्दै आयोग बन्ने भन्ने कुरा नभएको जिकिर गरे ।
उनले भने, ‘अनुभवहरुले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो । यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ । कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन । मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरुको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो ।’
यस्तै अध्यक्ष ओलीले राष्ट्रिय हितहरुको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उल्लेख गरे । एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता, अन्योल र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैलाउनका लागि बोलिएको उनले बताए ।
यस्तै उनले प्रदेशहरुमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको बताए । सथै उनले संविधानप्रतिको ओठेभक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने चेतावनी दिए ।