बाढीपहिरो अपडेट: मनसुन सुरु भएयता देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

अनलाइनसमय |
२७ असार २०८१
बाढीपहिरो अपडेट: मनसुन सुरु भएयता देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

काठमाडौं, २६ असार । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज ( बुधबार) बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डिआईजी) दानबहादुर कार्कीका अनुसार जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएका छन् । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् । यस्तै बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला छन् ।

उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायको क्षति भएको छ । एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए ।

उनका अनुसार वर्षा पहिरोका कारण आठ सय ५८ घर विस्तापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ ।

मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेको र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै अविरल वर्षाका कारण देशभर एक हजार एक सय १७ घटना घटेको छ भने दुई हजार नौ सय ५४ घरपरिवार विस्तापित भएका छन् । उक्त घटनामा रु १० करोड ७० लाख ४० हजार नौ सय बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस