काठमाडौं, २५ असार । सरकारले असार २४ गतेसम्म पूँजीगत खर्च ५६ दशमलव ९७ प्रतिशत मात्रै गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबारसम्म पूँजीगत खर्चतर्फ १ खर्ब ७२ अर्ब ९ करोड रुपैयाँ खर्च गरेको छ । यो रकम सरकारले पूँजीगत खर्चतर्फ छट्याएको वार्षिक लक्ष्यको ५६.९७ प्रतिशत मात्रै हो । सरकारले चालू आवका लागि पूँजीगत खर्चतर्फ कुल ३ खर्र्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सरकारले चालु खर्च पनि यस वर्षको वार्षिक लक्ष्यअनुसार परिचालन गर्न सकेन । तथ्याङ्क अनुसार हालसम्म चालुगत खर्चतर्फ सरकारले वार्षिक लक्ष्यको ८१.७९ प्रतिशत मात्रै खर्च गरेको छ । चालू आवका लागि ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ चालु खर्चको लक्ष्य राखेकोमा ९ खर्ब ३३ अर्ब ८५ करोड रुपैयाँ चालु खर्च गरेको छ ।
यस्तै वित्तीय व्यवस्थातर्फ २ खर्ब ५० अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ । अर्थात् यो रकम सरकारले यो वर्षका लागि वित्त व्यवस्थापनतर्फ लिएको वार्षिक लक्ष्यको ८१.४ प्रतिशत मात्र हो ।
यस वर्ष सरकारको कुल बजेट खर्च १३ खर्ब ५६ अर्ब २१ करोड रुपयाँ भएको छ, जुन सरकारले यस वर्षका लागि छुट्याएको वार्षिक लक्ष्यको ७७ दशमलव ४४ प्रतिशत मात्र हो । सरकारले चालू आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको बजेट कार्यान्वयन गरिरहेको छ ।
सरकारले सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द गरिसकेको छ । आजदेखि अत्यावश्यक र सरकारी कार्यलयमा आएर रोकिएका बिलको बाहेक अन्य भुक्तनी हुँदैन ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार सरकारले आर्थिक वर्षको अन्तिम महिनाको कम्तीमा एक हप्ता अघि भुक्तानी रोक्नुपर्ने व्यवस्था छ ।