काठमाडौं, २३ असार । नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले प्रतिपक्षी बेञ्न्चमा बसेको हो ।
प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । यसअघि असार १७ गते बसेको प्रतिनिधि सभा बैठकमा एमाले सत्तापक्षको बेन्चमा बसेको थियो ।
साथै बैठकले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन भनेको छ । राजीनामा नदिएर संसदमा विश्वासको मत परीक्षण गरे विश्वासको मत नदिने एमालेको निर्णय छ ।
नेकपा एमालेका सांसद रघुजी पन्तले संसदबाटै प्रधानमन्त्री ‘प्रचण्ड’को राजीनामा मागेका छन् उनले बैठकको शुन्य समयमा बोल्दै ‘प्रचण्ड’ले बहुमत समर्थन गुमाइसकेको ले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
यस्तै एमालेका अर्का सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेकोले छिटो भन्दा छिटो राजीनामा दिन माग गरे ।
प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् ।