काठमाडौं, १८ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ ।
वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी राखिएको छ । वेबसाइटमा गएर विद्यार्थीहरूले आफ्नो रुचि अनुसार पेशाबारे सूचना र सहायता लिन सक्ने छन् ।
वेवसाइटमा विद्यार्थीले पाउने छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएका छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक हुने भएको छ ।
जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई वेबसाइट मार्फत सहजीकरण गर्ने मन्त्रालयको भनाइ छ ।
विद्यार्थीले आफ्नो वृत्ति मार्ग निर्धारण गर्न समाजका अशल र सफल पात्रहरूका प्रेरणाका कथाहरू पनि वेबसाइटमा हेर्न र पढ्न सक्नेछन् । साथै वेबसाइटमा राखिएको प्रश्नावलीमा सहभागी भई ‘करियर असेसमेन्ट’ मार्फत विद्यार्थीहरूले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नेछन् । वेबसाइटमा पेशा र रोजगारीका लागि जानकारी पाइने ईलर्निङका वेबसाइटहरु पनि राखिएको छ ।
यही कार्यक्रमअन्तर्गत शिक्षामन्त्री सुमना श्रेष्ठले विभिन्न पेशामा स्थापित व्यत्तित्वहरुसँगको पेशाका सम्भावना र चुनौतीबारे बहस गरिएको युट्युब पोडकास्ट पनि वेबसाइटमा राखिएको छ ।
वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रूपमा मार्ग निर्देशित गर्न विद्यार्थीलाई सूचना, परामर्श, एवम् वृत्ति मार्गनिर्देशन सेवा प्रदान गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन वेबसाइट तयार गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।