काठमाडौं, १८ असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बोलाएको छ । बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार बैठकले एमालेसँग भएको गठबन्धनका लागि भएको समझदारीलाई अनुमोदन गर्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।
यसअघि आज बिहान कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकमा सभापति शेरबहादुर देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका थिए ।
सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन् । दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’ सहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ ।