काठमाडौं, १८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन् । उनका अनुसार सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
महासचिव पोखरेलले संविधान संशोधनसहितको प्रक्रियालाई स्वीकार्ने दलहरूलाई नयाँ सरकारमा समावेश गरिने बताएका छन् ।
आफ्नो सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदअनुरुप कानून समेत निर्माण गर्नेगरी केपी शर्मा ओलीको नेतृत्त्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी भएको छ । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने छ ।’
सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका थिए ।