काठमाडौं, १४ असार । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज भएको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न गठित सिफारिस समितिको शुक्रबारको निर्णयबमोजिम धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो ।
गत वर्ष चैत १६ मा सूचना प्रकाशित गरी समितिले हालसम्म सम्पन्न गरेका छनौटसम्बन्धी सम्पूर्ण प्रक्रिया रद्द गरिएको सूचनामा जनाइएको छ।
बोर्डको अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये ३ जना अन्तवार्ता तथा प्रस्तुतिका लागि अनुपस्थित भएपछि अध्यक्ष सिफारिस प्रक्रियाबारे समितिभित्र विवाद भएको थियो ।
बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउनेबारे समितिले महान्याधिवक्ताको कार्यालयबाट कार्यालयसँग लिखित सुझाव मागेको थियो । गत बिहीबार अर्थ मन्त्रालयमार्फत महान्यायाधिवक्ता कार्यालयले ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न सक्ने सुझाव दिएको थियो ।
उक्त पत्रको जवाफ कार्यालयले मन्त्रालयमा मंगलबार पठाएको थियो । महान्यायाधिवक्ताको रायमा सिफारिस समितिले अर्थसचिव र अर्थमन्त्रीसँग छलफल पनि गरेको थियो । तर, अन्ततः सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो।
अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्न ३ जना चाहिने कानुनी व्यवस्था छ । आवेदन दिएकामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले मात्रै अन्तर्वार्ता दिएका थिए भने बाँकी ३ जना डा.नवराज अधिकारी, चिरन्जीवी चापागाई र कृष्ण कार्कीले अन्तर्वार्ता तथा प्रस्तुति दिएनन् ।