काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, अंग्रेजी र विज्ञान शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद चौधरीले नेपालका धेरैजसो स्कुलमा गणित र विज्ञान शिक्षक नै पाउन छोडेको बताए ।
एसईई नतिजाले यी तीन विषयका लागि विशेष व्यवस्था गर्नुपर्ने देखाएको उनको भनाइ छ । उनले भने, ‘साँच्चै शिक्षा सुधार गर्ने हो भने गणित, अंग्रेजी र विज्ञान शिक्षकलाई विशेष व्यवस्था गर्न म जोडदार माग गर्दछु ।’
साथै उनले कक्षा १ मा भर्ना भएका ७ लाख विद्यार्थी एसईईसम्म नपुगेको अवस्था रहेको भन्दै विद्यार्थी बीचमै हराएको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।