प्रधानमन्त्रीलाई गगनको सुझाव: नटेर्ने मन्त्री फेर्ने, नसके डेरा सर्ने

अनलाइनसमय |
१० असार २०८१
प्रधानमन्त्रीलाई गगनको सुझाव: नटेर्ने मन्त्री फेर्ने, नसके डेरा सर्ने

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पद छाड्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गर्दै थापाले मन्त्रीलाई फेर्न नसके प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने बताए ।

थापाले चालु आर्थिक वर्षको समानीकरण अनुदान स्थानीय तहलाई दिनुपर्ने बताए । समानीकरण अनुदान संघीय सरकारले दिने बकस नभई जिम्मेवारीको कुरा भएको उनले बताए । त्यस्तै यो अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघीय सरकारको संवैधानिक दायित्व भएको पनि उनले बताए ।

उनले भने, ‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व । तर, संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीलाई बकस दिएको जस्तो गर्दै आएको छ । मानौ यो–तजबिजी अधिकार हो । यसपालि पनि यस्तै भयो । अहिले आएर सरकारले निर्णय ग¥यो रे भन्ने सुनियो । तर, दिने अनुदानमा ७ प्रतिशत जति घटाउनु अरे भन्ने कुरा सुनियो । वडाको क्षेत्र भित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने । अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो अस्वीकार्य छ । यो असंवैधानिक छ । यो भन्दा पनि रोचक कुरा सभामुख महोदय, स्थानीय सरकारका प्रमुखहरुले यो विषयमा प्रधानमन्त्रीसँग भेट्नुभएछ । अनि सय प्रतिशत चाहिन्छ भन्नुभएछ । अनि प्रधानमन्त्रीले के भन्नु भएछ भने–मेरो त मन छ, तर मन्त्रीले मानेन् । प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो ? यो संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने हो भने सिंहदरबार, बालुवाटारबाट डेरा सर्ने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस