काठमाडौं, ९ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी गठी प्रकरणमा प्रहरीले खोजी गरिरहेका जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्ने गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री शर्माले गृहमन्त्रीले चितवनमा दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका हुन् । लामिछानेले चितवनमा पुगेर जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका थिए ।
उनले तत्कालीन मिडिया ग्रुपका दुई जना मालिकमध्ये एक जना गृहमन्त्री रहेको र अर्का एक जना जीबी राई फरार रहेको बताए । लोकेसन पत्ता लागिसक्यो भनेर गृहमन्त्रीले जीबी राईलाई भगाउन खोजेको हो भन्दै शर्माले प्रश्न गरे ।
उनले लोकेसन पत्ता लागेपछि पनि चार दिन किन लाग्छ भन्दै प्रश्न गरे । उनले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुपछ । त्यसेले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो ?’