काठमाडौं, २ असार । कोशी प्रदेशको आर्थिक मामिलामन्त्री रामबहादुर मगरले प्रत्यक्ष निर्वाचित सांसदलाई एक करोड र समानुपातिक सांसदलाई ५० लाख रुपैयाँका दरले योजना वितरण गरेको बताएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मगरले कतिपय सांसदहरुले एक पटक योजना बुझाइसकेपछि पनि थप योजना माग गरेको र बजेट पाएको बताए ।
उनले भने, ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम त राख्न मिलेन, त्यसको बदलामा बजेटमा सांसदहरुको योजना समावेश भएको छ ।’
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ, जसमध्ये चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख विनियोजन गरेको छ त्यस्तै पूँजीगत , वित्तीय व्यवस्थापनतर्फ क्रमशः १६ अर्ब २० करोड २० लाख र २ करोड विनियोजन गरेको छ भने स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ छुटयाइएको छ । आगामी आर्थिक वर्षको बजेट करिब डेढ अर्ब रुपैयाँ घटेको छ । कोशीमा चालु आर्थिक वर्षमा सरकारले ३६ अर्ब ८१ करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
संघीय सरकारबाट प्राप्त हुने अनुदान घटेका कारण बजेटको आकार घटेको मन्त्री मगरले बताए ।
साथै उनले कृषि क्षेत्रमा सिधै अनुदान दिने कार्यक्रमले प्रतिफल नदिएका कारण यसवर्ष किसानले लिने ऋणमा ब्याज अनुदान दिने नीति लिएको बताए ।उनले भने, ‘कृषिमा अनुदान गयो, तर उत्पादकत्व बढेको देखिएन । उत्पादकत्व नबढेका कारण अनुदानलाई व्याजमा दिने व्यवस्था गरेका छौं । कृषि ऋणका लागि सहजीकरण गरी किसानलाई ऋणको व्याजमा अनुदान दिने नयाँ प्रयोग गर्न खोजको छौं ।’