काठमाडौं, २७ जेठ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आइतबार तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको हो ।
सर्वाेच्च अदालतले पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलास तोकेको थियो ।
न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेका थिए । त्यही कारण आज कार्कीको रिट हेर्न नमिल्नेमा परेको हो ।
एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।
२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परे पनि विश्वासको मत परीक्षण नगरेका कारण २६ वैशाखमा स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुखले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । २७ वैशाखमा नै मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित केदार कार्की सर्वाेच्च अदालत पुगेका थिए ।