काठमाडौं, २७ जेठ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रिमा राखेको छ । बैंकले आफ्ना संस्थापक शेयर धनीहरूको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर आजदेखि बोलकबोलमार्फत लिलाम बिक्रिमा राखेको हो ।
उक्त शेयर खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ ।
शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम दुई लाख कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र फाराम काठमाडौँको लेखनाथ मार्गस्थित बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ ३१ गते अपराह्न ३ बजेसम्म रहेको बैंकले जनाएको छ ।