काठमाडौं, २४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन् । प्रधानमन्त्री प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।
लोक सभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद विघठन गरेका थिए । त्यसमश्चात् बुधबारनै बसेको गठबन्धनको बैठकले सर्वसम्मतीले मोदीलाई नेता चुन्दै तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।
राष्ट्रपतिबाट उनको नियुक्ति हुन र शपथ ग्रहण समारोहको दिन निश्चित हुन भने बाँकी नै छ । भारतीय मिडियाहरुका अनुसार शपथ ग्रहण समारोह ८ जुन अर्थात जेठ २६ गते सनिबार मा हुने सम्भावना छ ।
लोक सभा निर्वाचनमा भाजपा गठबन्धनले बहुमत हासिल गरेपछि प्रधानमन्त्री प्रचण्डले फोन गरेर मोदीलाई बधाई दिएका थिए । त्यही टेलिफोन कुराकानीको क्रममा मोदीले प्रचण्डलाई शपथ समारोहमा आउन निम्तो दिएका थिए । कुराकानी लगत्तै मोदीले सामाजिक सन्जाल एक्समार्फत् प्रधानमन्त्री प्रचण्डप्रति धन्यवाद समेत ज्ञापन गरेका थिए ।