• Uncategorized, ताजा समाचार, राजनीति

    सांसद न्यौपानेको प्रश्नः सांसदलाई जस्तो पोसाक लगाए पनि छुट, जनतालाई चाहिँ किन बन्देज ?

     91 Views
    सांसद न्यौपानेको प्रश्नः सांसदलाई जस्तो पोसाक लगाए पनि छुट, जनतालाई चाहिँ किन बन्देज ?

    काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबार र संसद् भवनमा सांसद र नागरिकले लगाउने पोशाकमा समानता नरहेको बताएकी छन् । आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दैे न्यौपानेले चप्पल लगाएका नागरिकलाई संसद भवनमाथि जान नदिइएको भन्दै ध्यानाकर्षण गराएकी हुन् ।

    दूरदराजका नागरिकलाई काठमाडौं आउनै गाह्रो हुने र काठमाडौं आएको बेला संसद् भवन हेर्न खोज्दा पोशाकका कारणले समेत समस्या हुने गरेको उनले बताइन् ।

    उनले भनिन्, ‘जनताहरू काठमाडौंसम्म आइपुग्न पनि गाह्रो हुन्छ। बल्ल काठमाडौं आएका जनता संसद भवन हेर्न पनि चाहन्छन्। संसद भवनमा आएर माथि जान लाग्दा रोकिन्छ, कारण के हो मैले बुझ्न सकिनँ। त्यसपछि मैले सोधे किन उहाँहरूलाई माथि जानबाट रोकियो? खुट्टामा चप्पल लगाएका छन् त्यसकारण माथि जान पाउँदैनन् भनिया े। सरकारको नियम होला भनेर मनमा दबाएर राखेँ ।’ नियम बनाउने ठाउँमा रहेका सांसदहरू भने चप्पल लगाएर संसद भवनमा आइरहेको तर नागरिकलाई भने रोकिएको उनको भनाइ छ ।

    यस्तै उनले हाफ पाइन्ट लगाएका नागरिकलाई किन सिंहदरबार छिर्नबाट रोक्ने गरिएको भन्ने प्रश्नसमेत गरिन् । उक्त घटना आफूसँग समेत सम्बन्धित रहेको भन्दै उनले भनिन्, ‘अस्ति म सिंहदरबारमा एउटा भाइको बाइकमा जाँदै थिएँ । मैले आफ्नो आईडी देखाएँ, भित्र गएँ । तर, प्रहरी दगुरेर मेरो पछाडि आइराख्यो । म अचम्मित भएँ । उत्रिएर सोधेँ किन दगुरेको ? माननीयज्यू तपाईंलाई होइन, त्यो भाइलाई रोकेको भन्नुभयो ।’

    भाइलाई किन रोकेको भन्दा ‘भाइले हाफ पाइन्ट लगाएको छ जान पाउँदैन’ भन्ने जवाफ पाएको र यसबाट आफू अचम्मित भएको पनि उनले सुनाइन् ।

    उनले संसदमा मर्यादित पोसाक लगाएर आउने कति जना छन् भन्ने प्रश्न पनि गरेकी छन्। ‘सांसदलाई चाहिँ चप्पल र जस्तो पोसाक लगाए पनि छुट, जनतालाई चाहिँ त्यसमा बन्देज?,’ उनले प्रश्न गरिन्, ‘विचरा जनताहरू! चप्पल लगाएर संसद आउन नपाउने? यो अत्यन्तै अप्ठा्यारो विषय भएको उल्लेख गर्दै उनले सभामुखसँग रुलिङको माग गरेकी छन् । सांसदहरू सबै ड्रेस लगाएर हिँड्न पाउने भएपछि जनताले हाफपाइन्ट लगाएर सिंहदरबार र संसद् भवनमा प्रवेश नपाउनुको कारण सरकारले दिनुपर्ने उनको माग छ । नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउने भनेर अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर रुलिङ गरिनुपर्ने उनको माग छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment