• विश्व

    रफाहमा ४५ शरणार्थीको ज्यान जानु दुःखद् दुर्घटना: प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

     93 Views
    रफाहमा ४५ शरणार्थीको ज्यान जानु दुःखद् दुर्घटना: प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

     

    इजरायलले आइतबार गाजा क्षेत्रमा पर्ने रफाहको शरणार्थी शिविरमा गरेको आक्रमणमा ४५ जनाको ज्यान गएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो घटनालाई दुःखद् दुर्घटना भनेका छन् ।

    आक्रमणपछि अन्तर्राष्ट्रिय स्तरमा नेतन्याहुको तीव्र आलोचना भएपछि उनले त्यसलाई दुःखद दुर्घटना भन्दै त्यसको अनुसन्धान गरिरहेको जनाएका हुन् ।
    संसदमा सम्बोधन गर्दै उनले भनेका छन्, ‘रफाहमा हामीले १० लाख जनालाई बचाएका छौं । सर्वसाधारण नागरिकमा क्षति नपुगोस् भनेर हामी कोसिस गर्छौं । तर एक दुःखद दुर्घटना भयो । हामीले यसको अनुसन्धान गरिरहेका छौं र त्यसबाट हामी सिक्ने छौं ।’ नेतन्याहुले भने गाजा क्षेत्रका नागरिकलाई रक्षाका लागि हर सम्भव कोसिस गरिरहेको जनाएका छन् ।

    हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजरायलले रफाहको शरणार्थी शिविरमा आक्रमण गर्दा ४५ जनाको मृत्यु भएको र सयौं घाइते भएको जनाएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

    इजरायललाई गाजामा आक्रमण रोक्न विभिन्न देशहरुले दबाब दिँदै आएका छन् । तर उनले भने हमासलाई निमिट्यान्न पार्ने लक्ष्य पूरा नहुँदासम्म युद्ध नरोकिने दोहोर्याएका छन् ।

    गत ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित करिब १४ सय जना मारिएका थिए । नेपालका विपिन जोशीसहितका दर्जनौं इजरायली नागरिकलाई हमासले अपहरण गरेको थियो । सो घटनापछि इजरायलले हमासको आतंक अन्त्य गर्ने कसम खाँदै युद्ध घोषणा गरेको थियो । इजरायलले थालेको सैन्य कारबाहीको क्रममा हालसम्म ३४ हजार भन्दा धेरैको ज्यान गइसकेको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment