प्रमुख दलहरुबीच भएको सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन

अनलाइनसमय |
१५ जेठ २०८१
प्रमुख दलहरुबीच भएको सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन

काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ ।

बानेश्वरस्थित संसद भवन परिसरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले (हिजो) सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले अहिले केहीबेरमा बस्ने कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रुप दिने बताए ।

यस्तै उनले बैठकमा नेपाली काँग्रेस लगायत संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरु सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्षउन्मुख रहेको र सोमवार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको बताए ।

उनले भने, ‘हामीले जुन सहमति गरेका छौं, यसमा कसैको नाम वा पद लेखिहाल्ने भन्दा सहकारीको रकम जहाँ–जहाँ गएको छ, कानुनी गैरकानुनी रुपले गएको हेर्ने, त्यसमा संलग्न मानिस जो सुकै होस्, उसका बारेमा छलफल हुनसक्ने, छानबिन हुनसक्ने अनुसन्धान हुन सक्ने स्थिति बनाएको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक छैन भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

यस्तै उनले ४ बजेको प्रतिनिधि सभा बैठकमा कार्यादेश सहितको सहमति बैठकबाट पारित हुने गरेर प्रश्तुत हुने जानकारी दिए । काँग्रेसले समितिका लागि आफ्नो तर्फबाट ३ बजेसम्म नाम दिइसक्ने बताए । उनले समग्र सहकारीको बारेमा कानूनी र संस्थागत प्रवन्धको अनुगमन, उचित मूल्यांकन हुने कुरामा विशेष जोड दिनुपर्ने बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस