काठमाडौं, १४ जेठ । गिरिबन्धु टि–इस्टेट प्रकरणमा कांग्रेस नेताहरुले दिएको अभिव्यक्तिप्रति नेकपा एमालेका नेताहरु सन्तुष्ट भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी र रास्वपा सहितको छलफलमा एमालेले उक्त विषयलाई आपत्ति जनाउँदै लिखित रुपमा माफी माग्नुपर्ने बताएको थियो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टि–इस्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए ।
झापाको गिरिबन्धु टि–इस्टेटको जग्गा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा कानुन बनाएर सट्टापट्टा गर्ने बाटो खोलिएको थियो । जसलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । कांग्रेस महामन्त्री शर्माले सहकारी र गिरीबन्धु टि–स्टेटमा एक अर्काले बचाउन ओली र रविबीच सहमति बनेको टिप्पणी गरेदेखि नै ओली असन्तुष्ट छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लोपटक बसेको बैठकमा पनि ओलीले सोही विषय उठाउँदै आक्रोश पोखेका थिए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरुलाई बालुवाटार बोलाएर गरेको छलफलमा पनि एमाले नेताहरुले कांग्रेसले अनावश्यक आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीसँगको छलफलपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘कांग्रेसले यी आरोपप्रति लिखित रुपमा क्षमा माग्नुपर्दछ । सार्वजनिक रुपमा माफी माग्नुपर्दछ ।’
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार, एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायत सहभागी थिए ।
छलफल पछि एमाले उपाध्यक्ष पौडेलले कांग्रेसले गलत लाञ्छना लगाएको भन्दै त्यसको प्रतिवादमा उत्रिने बताएका थिए । पौडेलले भने, ‘यसप्रकारका अभिव्यक्तिबाट नेपाली कांग्रेस पछि हट्दैन भने यस्ता अभिव्यक्तिका विरुद्धमा राजनीतिक रुपमा प्रतिवादमा उत्रन्छ । नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका अभिव्यक्ति र घटनाक्रमले संकेत गरिरहेका छन् । विशेष गरिकन असामयिक, असान्दर्भिक, आधारहीन र पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिलाई बिथोल्न कांग्रेस लागिरहेको छ ।’