• कृषि, ताजा समाचार

    जिडिपीमा कृषि क्षेत्रको योगदान २३.९२ प्रतिशत, उत्पादन ३.०५ प्रतिशतले बढ्ने

     78 Views
    जिडिपीमा कृषि क्षेत्रको योगदान २३.९२ प्रतिशत, उत्पादन ३.०५ प्रतिशतले बढ्ने

    काठमाडौं, १४ जेठ । पछिल्लो समय कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान घटेको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा जिडिपीमा कृषि क्षेत्रको योगदान २३ दशमलव ९२ प्रतिशत रहेको छ, जुन गत आर्थिक वर्षको तुलनामा शून्य दशमलव १७ प्रतिशत विन्दुले कम हो । गत आर्थिक वर्षमा जिडिपीमा कृषि क्षेत्रको योगदान २४ दशमलव ०९ प्रतिशत थियो ।

    यस्तै चालू आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन ३ दशमलव ०५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन २ दशमलव ७६ प्रतिशतले बढेको थियो । यस्तै पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ ।

    चालू आर्थिक वर्षमा सबै कृषि बालीको उत्पादन बढ्ने अनुमान गरिएको छ । सर्वेक्षण अनुसार धान, गहँु, मकै, लगायत खाद्यान्न बालीको उत्पादन ४ दशमलव ३६ प्रतिशत बढ्ने अनुमान गरिएको छ । त्यस्तै नगदेबालीमा रहेका आलु र तेलहन बालीको उत्पादन ५.०५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यस्तै औधोगिक बालीको उत्पादन ४.६३, दलहन बालीको ४.७९, मसलाबालीको ३.७४, फलफुल बालीको ०.६७ र तरकारी बालीको ०.५२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

    हाल ६२ प्रतिशत परिवारको प्रमुख पेशा कृषि रहेको छ भने ६७ प्रतिशत परिवार कृषक परिवारभित्र रहेका छन् ।

    यसमा तपाइको मत

    Facebook Comment