• ताजा समाचार, राजनीति

    प्रतिनिधि सभाको बैठक सुरु हुन सकेन, शीर्ष नेताहरुको निर्णय निर्णय कुर्दै सभामुख

     94 Views
    प्रतिनिधि सभाको बैठक सुरु हुन सकेन, शीर्ष नेताहरुको निर्णय निर्णय कुर्दै सभामुख

    प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । शुक्रबार बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । तर, दलहरु आन्तरिक र दुईपक्षीय छलफलमा रहेका कारण प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो ।

    नयाँबानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका विपक्षी दलहरु छलफलमा छन् ।

    यता सत्तारुढ दलमा आवद्ध दलका शीर्ष नेताहरु पनि छलफलमा जुटेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सिंहदरवारमा छलफल जारी छ ।

    सत्तापक्ष र विपक्षी दलहरुको छुट्टाछुट्टै छलफल चलिरहेका कारण प्रतिनिधि सभाको बैठक अगाडि बढाउने सन्दर्भमा प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्णय लिन सकिरहेको छैन । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् । शीर्ष नेताहरुको निर्णय प्राप्त भएपछि प्रतिनिधि सभा कसरी अगाडि बढाउने भन्ने विषय तय हुन्छ ।

    नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ । सत्ता पक्ष छअनविन समिती बनाउन तयार नदेखिएपछि कांग्रेसले संसद् अवरोध गर्दै आएको छ ।

    बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो ।

    शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले बिहीबारको घटनाको निन्दा गरेको छ । कांग्रेसले सभामुखको भूमिका माथि समेत प्रश्न उठाएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment