काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ५० करोड रुपैयाँसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली सुरु भइसकेको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल–युरोपियन युनियन सम्बन्धको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानीका लागि आवेदन दिन स्वचालित रुट सुरु भइसकेको बताएका हुन् ।
सोही क्रममा प्रधानमन्त्री प्रचण्डले यसको सुरुवातले नेपालमा व्यवस्थापकीय दक्षता र पुँजी भित्रिने विश्वास रहेको उनले बताए । साथै उनल नवीकरणीय ऊर्जा परियोजना, दिगो कृषि अभ्यास र नयाँ प्रविधिहरू अन्वेषण गरिरहेको बताए ।
सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली–२०७७ को पहिलो संशोधन गरेको थियो । गत वैशाख ७ मा राजपत्रमा प्रकाशित भएको संशोधित नियवलीमा शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था छ ।