काठमाडौं, २ जेठ । बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको जनाएको हो ।
महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले बिहीबार (भोलि) नयाँ टेन्डर आह्वान गरिने जानकारी दिए ।
गत फागुन १७ गते एमए कन्स्ट्रक्न प्रालिले ३० दिनको म्याद राखेरे ठेक्का लिएको थियो । उक्त टेन्डरको ठेक्काको मापदण्ड एक मात्रै कम्पनीलाई मिल्ने गरी बनाएको भनेर सार्वजनिक आलोचनासमेत भएको थियो ।
उपनिर्देशक अर्यालले पुनः ३० दिनको म्याद राखेर चालु आर्थिक वर्षभित्रै सम्झौता गर्न मिल्ने गरी टेन्डर निकाल्ने तयारी गरिएको बताए ।
महानगरले यसअघि १ अर्ब १० करोडको ठेक्का आब्हान गरेको थियो । महानगरले यसअघि ५७ करोडभन्दा बढीको टर्न ओभर भएको र रंगशालासम्बन्धी काम गरेको हुनुपर्ने मापदण्डमा बनाएको थियो । अब भने मापदण्डमा केही लचकता अपनाइने उपनिर्देशक अर्यालले बताए ।
महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार थप १० हजार क्षमताको प्यारापिटसहित मैदान लगायतका भौतिक पूर्वाधार निर्माणका लागि टेन्डर निकालिएको थियो ।
चितवनको भरतपुरमा सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले ५ हजार बस्ने प्यारापिट तयार गरिसकेको छ ।