काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको नारायणी नदीमा निर्माण गर्न लागेको सिग्नेचर पुलको औपचारिक शिलान्यास गरेका छन् । सोमबार उक्त पुलको सिल्यानास गरेपश्चात प्रधानमन्त्री दाहालले पूर्व–पश्चिम राजमार्गको मध्य भागमा रहेको भरतपुर महानगर र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माणपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताए।
उनले भने, ‘पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सबलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाका परियोजना सञ्चालन गर्नु राष्ट्रिय आवश्यकता हो। ‘यसैलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीसम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।’
यस्तै उनले यातायात सेवालाई सहज तुल्याउने गरी काम गर्नुपर्नेमा जोड दिँदै सडक दुर्घटना न्यूनीकरणका निम्ति पूर्वाधार, सवारीसाधन र ट्राफिक प्रणालीमा सुधारलगायतका क्षेत्रमा ध्यान दिनुपर्ने बताए।
२०८० जेठ १९ मा नेपालमै पहिलो पटक पूर्व–पश्चिम राजमार्गको नरायाणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का सम्झौता भएको थियो । पुल महाशाखाले तुँदी कन्स्ट्रक्सनसँग १ अर्ब ६८ करोड ७६ लाखमा ४२० मिटर लामो पुल निर्माण गर्ने गरी सम्झौता गरेको हो। सम्झौताअनुसार एक वर्षमा डिजाइन तयार र तीन वर्ष निर्माणावधि गरी ४ वर्ष (२०८४ जेठ) मा नारायणी नदीको सिग्नेचर ब्रिज तयार हुनेछ ।