काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची निकालेको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकल सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले संसदीय छानबिन समिति गठन हुनुपर्ने हाम्रो माग कायमै रहेको बताए । कांग्रेस सहकारी ठगीमा छानबिन समिति गठन हुनुपर्ने मागमा अडिग रहेको उनको भनाइ छ । उनले भने, ‘संसदको गतिरोध अन्त्य नहोस् भनेर सरकारले नै चाहेको हो कि भन्ने हाम्रो निष्कर्ष हो । हाम्रो जे निर्णय हो त्यो यथावत् हो ।,
सोही क्रममा महतले नीति तथा कार्यक्रम तथा अन्य जे सुकै भए पनि पार्टीले संसद् अगाडि बढ्न नदिने बताए ।
भोली (मंगलबार) राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।