तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै

अनलाइनसमय |
३० वैशाख २०८१
तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै

दमौली, ३० वैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय स्थापना गरेर तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही कम्पनीले १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाका लागि कार्यालय स्थापना गरेर कामलाई तीव्रता दिन थालेको हो ।

आयोजनाले साराङघाटमा घर भाडामा लिएर यही वैशाख १ गतेदेखि कार्यालय सञ्चालन गरेको हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार तल्लो सेतीको तीन सय ७५ मिटर लामो अनुसन्धानात्मक अडिट सुरुङ निर्माणका लागि आरके इञ्जिनियरिङ एण्ड एसोसिएटस्सँग खरिद सम्झौता गरिएको छ ।

आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षण गर्न अनुसन्धानात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको श्रेष्ठले बताए । अनुसन्धानका लागि निर्माण गरिने उक्त सुरुङ पछि अन्य कामका लागि प्रयोगमा आउने उहाँको भनाइ छ । डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

सरकारले आयोजनाका लागि तनहुँ जिल्लामा करिब पाँच सय ७७ र चितवन जिल्लामा करिब ३२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिइसकेको छ । लिमिडेटले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा उक्त प्रस्ताव गरेको थियो । सरकारले जग्गा प्राप्त गर्नका लागि स्वीकृति प्रदान गरेसँगै आयोजनाका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन सहयोग पुग्ने श्रेष्ठले बताए ।

उनले भने, ‘विविध कारणले जग्गा प्राप्तिका लागि स्वीकृति पाउन ढिलाइ भइरहेको थियो । सरकारको निर्णयसँगै अब जग्गा अधिग्रहणको कामलाई अगाडि बढाइनेछ ।’ तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र एसियाली विकास बैंकले लगानीका लागि चासो दिएका छन् । दुवै दाताहरु यसका लागि सकारात्मक रहेका प्रबन्ध सञ्चालक श्रष्ठले बताए । उनका अनुसार उक्त आयोजनाको लागत रु. २५ अर्ब अनुमान गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको प्रबन्ध सञ्चालक श्रष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त आयोजना निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन निर्माण भइसकेको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस