काठमाडौं, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् । शुक्रबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेको पछाडि प्रहरी नभई कांग्रेस लागेको बताए ।
यस्तै अध्यक्ष ओलीले कांग्रेसले भने जस्तो संसदीय समिति बनाए तत्काल गृहमन्त्रीको राजीनामा माग्ने दाबी गरे । उनले भने, ‘हामीले रविजीको राजिनामा मागेका छैनौं भन्नु भएको छ । अहिले समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? छानबिन समिति बनाएलगतै राजीनामाको खेल सुरु गर्नु हुन्छ ।’
गठबन्धन छाडेर आए डेढ वर्ष प्रधानमन्त्री बनाउने भनेर रविलाई प्रस्ताव गरेको र त्यसमा सहमत नभएपछि कांग्रेसले सहकारीको मुद्दा उठाएको ओलीको दाबी छ । सहकारीमा समस्या रहेको भन्दै कसरी समस्या समाधान गर्ने भनेर सरकारले कदम चाल्नुपर्ने उनको भनाई थियो ।