कठमाडौं, २८ वैशाख । भारतमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै गौरीफण्टा सीमा नाका बन्द गरिने भएको छ । भारतीय पक्षले गराएको जानकारी अनुसार आज (शुक्रबार) साँझबाट ७२ घण्टा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि मतदान कार्य पूरा नहुँदासम्म नाका बन्द रहने भनेर भारतीय पक्षले पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै निर्वाचन अवधिसम्म नेपाल–भारतका जिल्लास्थित सबै नाकाहरु शिल गरिने जनाएको छ । सूचना अनुसार बिरामी बोकेका एम्बुलेन्स, अत्यावश्यक सामान बोकेका गाडीबाहेक यातायात सञ्चालन र हिँडडुल गर्न शुक्रबार साँझ ६ बजेदेखि बन्द रहने छ ।
त्याहाँ सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा आगामी ३१ बैशाखमा लोकसभाको निर्वाचन हुँदै छ ।