कठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसले राज्यका अंगहरूको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएको छ । शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशनअघि कांग्रेसले यस्तो चेतावनी दिएको हो ।
सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीसमेत रहेका रास्वपाका रवि लामिछानेलाई जोगाउन सरकारले राज्यका निकायहरूको दुरुपयोग गरेको संकेत गर्दै कांग्रेसले त्यसो नगर्न चेतावनी दिएको हो ।
कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले भने, ’चेतावनी दिन चाहान्छौँ राज्यको अंगको दुरुपयोग गर्ने काम नहोस् ।’ सहकारीको रकम अपचलन र ठगी भएको विषय एक राजनीतिक दलको मात्र नभएर नागरिकको विषय भइसकेको उनको भनाई थियो ।
उनले भने, ’सरकार गैरजिम्मेवार भयो । पहिले सरकार अधिवेशन अन्त्य गरेर भागेको थियो । सरकारलाई जिम्मेवार हुन आग्रह गरेका छौँ ।’