फागुन २९, काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि निकै लामो रस्साकस्सीका बिच मध्यरातमा सहमति भएको छ ।
नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले प्रगतिशिल र लोकतान्त्रिक प्यानल बनाएरै मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको र सो विषयलाई हलबाट अनुमोदनका लागि विधानमा नभएको सहअध्यक्ष र केही पद थपघट गरेर मिलाउने तयारी गरिएको छ । सहमति पारित भएमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुल्ला उपाध्यक्षहरुमा गोपाल आचार्य, ईश्वर बहादुर गुरुङ, आशिष श्रेष्ठ, कृष्ण अधिकारी, महासचिवमा कुमार घिमिरे र कोषाध्यक्षमा सन्तोष मणि न्यौपाने हुनुहुनेछ । पूर्वअध्यक्ष भोज बहादुर शाहका अनुसार अहिले बिहान ९ बजेसम्म पूर्ण सहमति गरेर ११ः३० बजे सहमतिको घोषणा गर्ने गरी तयारी भएको छ ।
देशभरबाट आएका कुल २४३८ महाधिवेशन प्रतिनिधिले विधुतीय मतदान यन्त्रबाट बुधवार बिहान ८ :०० बजे पछि मतदान गर्ने गरि निर्वाचनको कार्यक्रम तय गरिएको थियो । महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको थियो ।