फागुन-१३, विराटनगर । पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच आरोप प्रत्यारोप चलिरहेको छ ।
आइतबार साँझ गृहनगर आएका शेखरले सोमबार बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूलाई गाली गर्दा फाइदा पुग्ने भए गाली गरिरहन भन्दै सभापति देउवाप्रति ब्यङग्यात्मक जवाफ दिएका हुन् ।
देउवाले ‘पार्टी कोइरालाहरुको बपौती नभएको र शेखर कोइराला को हो ?’ भन्दै गतहप्ता वीरगञ्जमा गरेको टिप्पणीबारे डा शेखरले भने, ‘उहाँले मेरो बारेमा जे बोल्नु भएको छ, त्यो उहाँँकै राजनीतिक संस्कार होला । म राजनीतिक संस्कारमा हुर्किएको हुँ ।’ ‘म को हुँ मलाई हेक्का छ, मैले सिकेको राजनीतिक संस्कार छाड्न सक्दिन् ,’ डा शेखरले अघि थपे ।
पार्टी संगठनमा भएको जथाभावीको विषय लिएर आफू कार्यकर्ता माझ जाने र गइरहने बताउँदै उनले हारको जिम्मा कसले लिने भन्दा उल्टो आफूलाई अनुशासन र कार्वाहीको कुरा उठेको बताए ।
डा. कोइरालाले सरकारका क्रियाकलापहरु जनताको भावना विपरीत भएको बताए । भ्रष्टाचार बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको तथा वाइडबडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको आरोप लगाउँदै यो सरकारको काम जनविरोधी भएको बताए ।