फागुन-१०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो ।
बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो । बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए ।
शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयको बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका लागी धन्यवाद दिने निर्णय गर्दै अब प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ ।’
नेकपाको पार्टी एकता भएको एक र्वष पुग्न लाग्दा समेत नेताहरु कार्यदल गठन र आपसी मतभेदमै अल्झिरहेका छन् ।