फागुन-३ , काठमाडौं । अहिले साझ भएको फाइनलमा नेपाल म्यानमारसँग ३–१ ले पराजित हुँदै हिरो महिला गोल्डकपको उपविजेतामा सीमित भएको छ । उपविजेता हुँदै नेपालले ५ लाख भारतीय रुपैयाँ जितेको छ । विजेता म्यानमारले ७ लाख भारतीय रुपैयाँ जितेको छ ।
भारत भुवनेश्वरको कालिंगा रंगशालामा भएको फाइनल खेलको ३४ औँ मिनेटमा म्यानमारले गोल गर्दै बनाएको १–० को अग्रता नेपालकी मञ्जली योञ्जनले ४५ औं मिनेटमा बराबरी गरेकी थिइन् । पहिलो हाफमा १–१ को बराबरी रहेको खेल दोस्रो हाफमा थप दुइ गोल खादै ३-१ अन्तरमा नेपालले खेल गुमायो ।
यद्यपी फाइनलमा पुग्ने क्रममा भारत र इरानमाथि हात पारेको जित भने नेपाली महिला फुटबलको उपलब्धी हो ।
गोल्डकपकै राउण्ड रोबिनको पहिलो खेलमा पनि नेपाल म्यानमारसँग ३–० ले हारेको थियो । त्यसपछिका खेलमा भने नेपालले भारतलाई २–१ ले र इरानलाई ३–० ले हराएर फाइनल पुगेको थियो । म्यानमारले भने राउण्ड रोबिनमा पनि तीनै खेल जितेर आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो ।