अस्मिता सापकोटा
काठमाडौँ, २७ असार। स्वास्थ्य जीवनशैलीको लागि निद्रा श्वासप्रश्वास र खानेकुरा जत्तिकै महत्वपूर्ण हुन्छ । आरामदायी निद्रा लाग्नु स्वस्थ जीवनको एक सूचक पनि हो । अहिलेको समयमा धेरै मानिसलाई निद्रा नलाग्ने समस्या देखिइरहेको चिकित्सकहरुको भनाइ छ । कतिपय अवस्थामा धेरै चिन्ता, कामको चाप, डिजिटल उपकरणको अत्यधिक प्रयोग जस्ता कारणले पनि मानिसलाई निद्रा नलाग्ने समस्या हुन्छ ।
कहिलेकाहीँ निद्रा नलाग्नुलाई सामान्य नै मानिन्छ । यद्यपि लगातार धेरै दिनसम्म निद्रा नपर्नु स्वास्थ्यको लागि राम्रो मानिँदैन । सन् २०१३ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निद्राको कमीले क्यान्सरको सम्भावना हुने भनेको छ । यद्यपि यो पूर्णतः प्रमाणित भने भइसकेको छैन । साथै यसले मानसिक र शारीरिक समस्या निम्त्याउने सम्भावना हुने केही अनुसन्धानले देखाएका छन् । निद्रा नलाग्ने वा कम लाग्ने समस्या भएका मानिसका लागि तल दिएका उपाय प्रभावकारी हुन सक्छन् ।
१. प्रशस्त प्रकाशमा बस्ने
निद्रा लगाउन मेलाटोनिन हर्मोनको भूमिका हुन्छ । यो हर्मोन रातिको समय या कम उज्यालोमा उत्पादन हुन्छ । दिउसै अध्याँरो वा कम प्रकाश भएको ठाउँमा बस्दा पनि हाम्रो शरीरले यो हर्मोन उत्पादन गर्छ । उज्यालोमा यसको उत्पादन कम हुने भएकाले प्रकाश भएको ठाउँमा बस्दा दिनमा निद्रा लाग्न दिँदैन । साथै दिनमा ननिदाएपछि रातमा आरामले निद्रा लाग्ने सम्भावना बढी हुन्छ ।
२. पर्याप्त आराम गर्ने
मानिसको शरीरलाई जुनसुकै बेला आराम चाहिन्छ । शरीरले आराम महशुस गरे मात्र निदाउने समयमा हाम्रा सोच विचार मस्तिष्कदेखि टाढा जान्छन् र निद्रा पर्ने सम्भावना हुन्छ । तनाव वा चिन्तामा हुँदा शरीरले कोर्टिसोल (तनाव उत्पन्न गर्ने हर्मोन) उत्पादन गर्छ । जसले मस्तिष्कमा सतर्कता महसुस गराई दिन्छ र निद्रा पर्ने सम्भावना कम हुन जान्छ ।
३. दिनमा नसुत्ने
दिनमा सुत्दा सुतेर उठेपछि पनि जिउ भारी हुने, अल्छी लाग्ने, फेरि पनि सुत्न मन लाग्ने हुन सक्छ । साथै यसले राति निद्रा नलाग्ने समस्या समेत निम्त्याउन सक्छ । शरीरलाई चाहिने निद्रा दिउँसै पूरा भइसकेपछि राति निद्रा लाग्दैन । पछि यो बानी नै बस्न सक्छ ।
४. दैनिक व्यायाम गर्ने
व्यायाम गर्दा मेलाटोनिन नामक हर्मोनको उत्पादन बढ्छ, जसले रातमा आरामदायी निद्रा पार्न मद्दत गर्छ । बिहानको करिब तीस मिनेटको व्यायामले रातको निद्रा सुधार्ने केही अध्ययनहरुले देखाएका छन् ।
५. शान्त वातावरणमा सुत्ने
हामी सुतिरहेको बेलामा पनि मस्तिष्कले आफ्नो कार्य गरिनै रहेको हुन्छ । आवाज आउने ठाउँमा सुत्दा मस्तिष्कले आवाजको पहिचान गर्छ, जसले गर्दा निदाउन गाह्रो पार्न सक्छ ।
६. खाना समयमै खाने
बेलुकाको खाना ढिलो खानाले निद्रा पनि ढिलो लाग्ने सम्भावना हुन्छ । सुत्नुभन्दा दुई वा तीन घण्टाअघि खाना खानाले शरीरलाई खाना पचाउन पर्याप्त समय मिल्छ । साथै खानामा के खाइन्छ भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ । धेरै बोसो भएका खाना पचाउन धेरै समय लाग्ने भएकाले पनि त्यस्ता खान खाँदा ढिलो निद्रा पर्ने सम्भावना हुन्छ ।
७. समयतालिका बनाउने
सुत्ने र उठ्ने समयमा एकरूपता नहुँदा शरीरको जैविक घडी अलमलिन्छ । सधैं एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने गर्दा मष्तिस्कलाई यसको बानी पर्छ । दैनिक एकै समयमा निद्रा आउने सम्भावना रहन्छ ।
८. क्याफिन जन्य पदार्थ सेवन नगर्ने वा कम गर्ने
क्याफिनेटेड पेयपदार्थ धेरै सेवन गर्दा पनि निद्रा हराउने सम्भावना हुन्छ । मानिसलाई थोरै समय भए पनि यसको सेवनले स्फूर्ति आएको जस्तो महसुस हुन्छ । तर यसको प्रयोगले राति सुत्ने बेलामा भने निदाउन गाह्रो पर्न सक्छ ।
९. धूमपान नगर्ने
चुरोटमा पाइने निकोटिनले ‘एड्रेनालाइन’ हर्मोनको उत्पादनमा सहयोग पुर्याउँछ । जसले शरीर र मस्तिष्कलाई जगाउँछ र निद्रा पर्न दिँदैन । त्यसैले सुत्नुभन्दा अगाडि धूमपान गर्नु निद्राका लागि बाधक बन्न सक्छ ।
१०. सुत्नुअघि मोबाइल, कम्प्युटर, जस्ता सामग्री नचलाउने
कम्प्युटर, मोबाइल जस्ता सामग्रीबाट आउने उज्यालोले पनि निद्रा पर्न दिँदैन । अझ मोबाइल हेर्न थालेपछि त्यसमा आउने सामग्रीहरुले मस्तिष्कको ध्यान खिच्छ र निदाउन बाधा पुर्याउने सम्भावना हुन्छ ।
(एजेन्सीको सहयोगमा)