दिनदिनै किन बढ्दै छ डलरको भाउ ? नेपाललाई लाभ कि हानि ?

अनलाइनसमय |
२ माघ २०८१
दिनदिनै किन बढ्दै छ डलरको भाउ ? नेपाललाई लाभ कि हानि ?

सुनिता सुवेदी,

काठमाडौं, २ माघ । पछिल्लो समय दैनिकजसो अमेरिकी डलरको विनिमय दर बढिरहेको छ । अमेरिकी डलरको मूल्य बलियो हुँदै जाँदा भारतसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ ।

नेपाल राष्ट्र बैंकले आज (बुधवार)का लागि सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी मुद्राको बिक्री दर १३८ रुपैयाँ ९२ पैसा रहेको छ । खरिद दर भने १३८ रुपैयाँ ३२ पैसा छ, यो हालसम्मकै उच्च खरिद–बिक्री दर हो । एक वर्षअघिको तुलनामा डलरको मूल्य नेपाली बजारमा ५ रुपैयाँ ९४ पैसा बढेको छ । गत वर्षको १४ जनवरीका लागि राष्ट्र बैंकले अमेरिकी मुद्राको बिक्री दर १३२ रुपैयाँ ९८ पैसा तोकेको थियो भने खरिद दर १३२ रुपैयाँ ३८ पैसा रहेको थियो । जसअनुसार एक वर्ष आवधिमा १ अमेरिकी डलर साट्न ५ रुपैयाँ ९८ पैसा बढी खर्च गर्नु पर्नेछ ।

पछिल्लो पाँच वर्षमा अमेरिकी डलरको मूल्य २१ रुपैयाँ ७५ पैसाले बढेको छ । सन् २०२१ को १४ जनवरीमा नेपाली बजारमा अमेरिकी मुद्राको बिक्री दर ११७ रुपैयाँ १७ पैसा र खरिद दर ११६ रुपैयाँ ५७ पैसा रहेको थियो ।

नेपाली बजारमा पाँचवर्षको अमेरिकी मुद्रा विनिमय दर (जनवरी १५)

स्रोत:नेपाल राष्ट्र बैंक

यो अवमूल्यन नेपालको शोधनान्तर स्थिति प्रतिकूल भई विदेशी मुद्राको सञ्चिति घट्दै गएकोले भएको होइन । यो नेपाली मुद्राको भारतीय मुद्रासँगको स्थिर विनिमय दरको कारणले हो । किनभने अमेरिकी डलरसँग भारतीय मुद्रा पनि अवमूल्यन भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले अमेरिकी मुद्राको तुलनामा भारतीय मुद्राको मूल्य घटेपछि यसको सीधा असर नेपाली मुद्रामा परेको बताए । उनले भने, ‘अहिले भारतबाट विदेशी लगानी बाहिरिएको समाचार आइरहेको छ । यो भनेको भारतबाट डलरको माग बढी भएको हो । माग बढी हुनु भनेको डलरको मूल्य बढी हुनु हो । यसले त्यहाँ विदेशी मुद्राको डलर घटिरहेको छ ।’ अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएकाले उनले गर्ने विभिन्न नीतिगत निर्णयका कारणले पनि डलरको मूल्य बढीरहेको उनको भनाइ छ ।

भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंकले जनवरी १५ का लागि सार्वजनिक गरेको विनिमय दरअनुसार भारतीय मुद्राको बिक्रीदर ८६.५४ रहेको छ । गत वर्षको जनवरी १५ मा भारतको यस्तो विनिमय दर ८२.८५ थियो । अर्थात् एक वर्ष आवधिमै भारतीय नागरिकले १ अमेरिकी डलर किन्न ३.६९ बढी भारु खर्च गर्नुपरेको छ ।

द इन्डियन एक्सप्रेसले भारतीय मुद्रा अवमूल्यन हुँदै जानुको प्रमुख कारण पछिल्लो समय भारतले खेपिरहेको व्यापार घाटा र विदेशी मुद्रा बाहिरिनु उल्लेख गरेको छ । त्यस्तै भारत चरम मुद्रास्फीतिको दबाबमा छ, जसले डलरको मूल्य घटिरहेको जनाइएको छ ।

डलर बढ्दा नेपाललाई फाइदा कि बेफाइदा ?

पछिल्लो समय डलरको मूल्य लगातार बढ्दै जाँदा नेपाली मुद्रा कमजोर हुँदै गएको छ । यसरी दिनदिनै नेपाली मुुद्राको अवमूल्यन हँुदा सम्रग अर्थतन्त्र कमजोर हुन्छ ।

अर्थविद् डा. रेशम थापा नेपालको अर्थतन्त्र आयातमुुखी रहेकाले बाहिरबाट सामान आयात गर्दा डलरमा भुक्तानी गर्नुपर्ने हुँदा महँगो पर्ने बताउँछन् । उनले भने, ‘१०० रुपैयाँमा १० रुपैयाँ बरबरको मात्रै निर्यात हुने र बाँकी आयात गरेर उपभोग गर्ने हुनाले वस्तु तथा सेवाको मूल्य बढ्छ । एक पक्षमा हाम्रो मुद्रा कमजोर हुनु भनेको उत्पादनको लागत घट्न सक्ने र निर्यात हुन सक्ने भन्ने अर्थ लाग्छ, तर अर्काे पक्षमा उपभोग्य वस्तुमा महँगीदर बढ्ने, शिक्षा स्वास्थ्य लगायतका सेवा महँगो हुन्छ ।’

नेपालले विदेशी मुलुकसँग ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यलयका अनुसार चालू आवको मंसिरसम्ममा नेपालले विभिन्न मुलुक तथा विदेशी संस्थालाई १२ खर्ब ७४ अर्ब ७४ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । यसरी विदेशी मुद्राको आधारमा लिइएको ऋण डलर बढ्दै जाँदा त्यसको भार थपिँदै जान्छ । डलरको मूल्य बढ्दा विदेश अध्ययन गर्न जाने विद्यार्थीको लागत पनि बढ्छ । यस्तै वैदेशिक उपचार वा भ्रमण समेत महँगो पर्छ ।

डलर बढ्दा नेपालले बेहोर्नुपर्ने अनेकौ चुनौती हुँदाहुँदै पनि समग्र अर्थतन्त्रमा भने फाइदा पु¥याइरहेको हुन्छ । हाल लाखौं नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा छन् । उनीहरूले त्यहाँ कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । डलरको मूल्य बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अर्थविद् थापा बताउँछन् । उनले भने, ‘विदेशमा भएका नेपालीले रेमिट्यान्स पठाउँछन् । उनीहरूले डलरको भाउ बढेको बेलामा पैसा धेरै आउँछ भनेर बढी पठाउने गर्छन् ।’ नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रिएको छ ।

डलरको मूल्य बढ्दा विदेशबाट आएका रेमिट्यान्सलाई विभिन क्षेत्रमा लगानी गर्ने ठूलो अवसर रहेको थापाको भनाइ छ । ‘हामीसँग ७ महिनालाई वस्तु तथा सेवा आयात गर्न पुग्ने भएपनि अहिले १५÷१६ महिनालाई आयात गर्न पसग्ने वैदेशिक मुद्रा सञ्तिति छ । यो डलर बढ्दा अरू पनि बढ्न सक्छ । यो बेलामा ठूलो रकम उत्पादनशिल क्षेत्रमा लगानी गर्न सक्ने मौका हो,’ उनले भने । साथै डलर बढ्दा नेपालको निर्यात गर्दा वस्तु सेवाको मूल्य धेरै हुने भएकाले निर्यात गर्न प्रेरणा मिल्ने मिल्ने उनको छ ।

अझै बढ्ला ?

राष्ट्र बैंकका सहायक सूचना अधिकारी आचार्य डलरको मूल्य १३९ को हाराहारीमै रहने अनुमान गरिएको बताउँछन् । तर नेपालको मुद्रा विनिमय दर भारतको मुद्रामा निर्धारण हुने भएकाले भारतमा बजारको प्रवृत्ति कस्तो हुन्छ, त्यो आधारमा मूल्य निर्धारण हुने उनले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस