थुप्रिँदै गएको विदेशी विनिमयबाट कसरी लाभ लिने ? (भिडियो रिपोर्ट)
अनलाइनसमय |
२६ पुष २०८१
काठमाडौं, २६ पुस । नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र डेढ वर्षयता सुधारको लयमा छ । अर्थतन्त्रको बाह्य क्षेत्र मजबूत बन्दै गएको बुझाउने धेरै सूचकमध्ये एक हो विदेशी विनिमय सञ्चिति, जुन हालसम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपालमा विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रहेको छ, जसको अर्थ नेपालमा १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्रा छ । विदेशी विनिमय सञ्चिति बढ्नुको प्रमुख कारण भने विप्रेषण आप्रवाह रहेको छ ।
नेपालमा विप्रेषण आप्रवाह वार्षिक औसत साढे ११ प्रतिशतले बढ्ने गरेको छ । निर्यात व्यापार कमजोर हुँदा विदेशी विनिमयका लागि रेमिट्यान्समाथिको निर्भरता बढ्दो छ । निर्यात व्यापार, पर्यटन आय, प्रत्यक्ष विदेशी लगानीको सट्टा रेमिट्यान्समा केन्द्रित अधिक निर्भरताले विदेशी विनिमयको दिगोपनमा ढुक्क हुने अवस्था भने छैन ।
सामान्ययता विदेशी विनिमय सञ्चिति बढ्नु सकारात्मक हो । तर यो थुप्रिरहनु पनि अर्थतन्त्रका लागि उपयुक्त मानिँदैन । यसको समयमै सदुपयोग नगरे मुलुकलाई हानि पुग्ने भएकाले दीर्घकालका लागि लाभ हुने क्षेत्रमा खपत गर्नुपर्ने अर्थविद्को सुझाव छ ।
नेपालमा एक वर्षमै विदेशी विनिमय सञ्चिति ३३ प्रतिशतले बढेको छ, अर्थात् ५ खर्ब ५८ अर्बभन्दा बढी थपिएको छ । यस्तै एक वर्षमा सञ्चिति पर्याप्तता ४ महिनाले बढेको छ । यद्यपि समग्रमा नेपाल जस्तो खुला सीमा र सानो अर्थतन्त्र भएको मुलुकलाई विदेशी विनिमय व्यवस्थापनको चुनौती भने कायमै छ ।
हाल उपलब्ध कुल विदेशी विनिमयमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २० खर्ब ८ अर्ब र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ४७ अर्ब कायम छ । कुल विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ । कात्तिकमा कायम विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ३९.५ प्रतिशत रहेको छ ।
प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा प्रस्तुत भिडियो रिपोर्ट :