सुनिता सुवेदी,
काठमाडौं, २७ मंसिर । काठमाडौंको न्युरोड (महाबौद्ध) व्यापार व्यवसायको प्रमुख केन्द्र हो । यहाँका सडकमा मानिसहरुको भिड निकै बाक्लो छ । सबै हतारमै देखिन्छन् । यही बाटोमा हिँड्दाहिँड्दै झट्ट अगाडि आँखा पर्छ राजन थापाको फेन्सी पसल । थापा दिनभर पसलमा आँफै खटिन्छन् । उनी आफ्नो पसल नजिकैबाट हिँड्ने मानिसतिर आँखा डुलाउँछन् । पसलमा मानिस आइहाल्छन् कि भनेर कपडा टक्टक्याउँदै उनी बाहिर आँखा घुमाउँछन् । तर, पसलमा कोही छिर्दैनन् । केही बेरमा फाट्टफुट्ट एक दुईजना मानिस पसलमा पस्छन् । जाडोका कपडा हेर्छन्, मूल्य सोध्छन् अनि फर्किन्छन् । बल्ल बल्ल पसलमा आएका यी दुई तीन जना पनि सामान नकिनी जान्छन् । अनि उनी निराश हुन्छन् ।
विगत ८ वर्षदेखि यस क्षेत्रमा व्यवसाय गर्दै आएका थापा यो वर्ष व्यापारमा धेरै मन्दी आएको बताउँछन् । उनी भन्छन्, ‘अहिले मान्छे यसै पनि कम छन् । पसलमा आएका मान्छेमध्ये सामान किनेर लैजाने झनै कम छन् । कपडा हेर्छन्, मूल्य सोध्छन् । कुनै प्रतिक्रिया नदिई जान्छन् । यस क्षत्रको आम व्यवसायीकै यही समस्या छ ।’
यस्तै समस्या छ यही क्षेत्रमा व्यवसाय गरिरहेकी सीता बस्नेतको । उनले बच्चाको कपडा व्यवसाय गर्न थालेको ५ वर्ष भयो । विगत २ वर्षदेखि व्यापार घट्दै गएको उनी बताउँछिन् । ‘सामान किन्न आएका धेरैजसो सस्तो मूल्यमा खोज्छन्, त्यही पनि कम किनछन्, व्यवसाय नहुँदा आम्दानीले सटर भाडा तिर्न समेत मुश्किल छ,’ उनी भन्छिन् । जाडोयाममा न्यानो कपडाको व्यापार बढ्ने आशा गरे पनि त्योअनुसार व्यापार नभएको उनको भनाइ छ ।
समग्र अर्थतन्त्रमा आएको मन्दीको प्रभाव उपभोक्ता वर्गमा समेत परेको छ । उपभोक्ताको क्रयशक्ति घट्दा मानव स्वास्थ्यसँग जोडिएको अत्यावश्यक वस्तु कपडाको कारोबार पनि खस्किएको देखिन्छ ।
सोही क्षेत्रमा भेटिएकी स्थानीय उपभोक्ता सरला सिलवाल पोहोरको तुलनामा महङ्गी धेरै बढेको बताउँछिन् । उनी भन्छिन्, ‘वर्षैपिच्छे व्यक्तिको क्रयशक्ति बढ्नुपर्छ । तर अहिले आम्दानी बढ्न सकेको छैन, तर महङ्गी थोरै बढ्दा पनि उपभोक्तालाई चर्को परेको छ ।’ अत्यावश्यक वस्तुहरु देशमै उत्पादन नहुनु, आयातमा सरकारले बढी मात्रामा कर लगाउनुले पनि उपभोक्तालाई मारमा पारेको उनको बुझाइ छ ।
यस्तै अर्का उपभोक्ता अनुप राना पछिल्लो समय अन्य देशमा पनि सामानको मूल्य बढिरहेको र त्यहीमाथि सरकारले धेरै कर लगाइदिँदा वस्तुको मूल्य आकाशिएको उनी बताउँछन् ।
अहिले बजारमा जाडोयामका कपडालगायत सामग्री जताततै देख्न सकिन्छ । जाडोयाम लक्षित ऊनका सामग्री पाइने पुरानो र स्थापित पसल हो– नेपाल ऊल हाउस । भोटाहिटीमा रहेको यस पसलमा जाडोमा बढी प्रयोग हुने विभिन्न प्रकारका लत्ताकपडा छन् । न्यायो कपडाका लागि लोकप्रिय यो पसलमा समेत व्यापार व्यवसाय पहिलेको तुलनामा घटेको बताइएको छ ।
विगतका वर्षमा जाडोयाम सुरु हुँदै गर्दा पलसमा कपडा किन्न आउनेहरूको भिडभाड लाग्ने गरेकोमा यस वर्ष घटेको पसलका सञ्चालक दिपेश तुलाधार बताउँछन् । व्यापारमा आर्थिक मन्दीले प्रत्यक्ष प्रभाव पारेको व्यवसाय तुलाधारको भनाइ छ ।
यस्तै व्यापार घट्नुको अर्को कारण उपभोक्ताको माग अनुसारका वस्तु आपूर्ति हुन नसक्नु पनि रहेको उनले बताए । ‘गत असोजमा आएको अविरल वर्षाको कारणले बाटो बन्द हुँदा सामान समयमै आउन सकेन । उपभोक्ताको माग अनुसार पसलमा सामान उपलब्ध भएन । जसले गर्दा पनि यो वर्षको जाडोको सिजनमा व्यापार कम छ,’ उनले भने ।
नेपालमै कपडा उत्पादन गर्न सकिने भएता पनि त्यसका लागि आवश्यक कच्चा वस्तु पुर्याउन नसक्ने उनले बताए । ‘कतिपय कपडा यहाँ बनाइए पनि हामीलाई आयात गरिएका कपडाको गुणस्तर र मूल्यसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । भारत र चीनबाट लयाइएका कपडाको तुलनामा प्रतिस्पर्धा गर्न त्यति सहज छैन । व्यापार व्यवसाय चलायमान बनाउन सरकारले काम गर्ने वातावरण मिलाइदिनुपर्ने, देशमै उत्पादन बढाउन नीतिनियम बनाई कार्यान्वयन गर्नुपर्ने र आयातमा कर घटाउनुपर्ने तुलाधारले बताए ।
यसैगरी जाडोमा सबैभन्दा बढी प्रयोग हुने वस्तु हो हिटर । देशभरको तापक्रम घटेसँगै चिसोबाट बच्नको लागि विद्युतीय हिटर प्रयोगमा आउन थालेको छ । विशेषगरी अफिस, कलेज, घर जस्ता स्थानमा धेरै मात्रामा हिटरको प्रयोग हुन्छ । बढ्दै गरेको चिसोले एकै ठाउँमा बसेर काम गर्नुपर्ने मानिसले चिसोबाट बच्न हिटरको प्रयोग गर्न थालेका छन् ।
अहिले लोडसेडिङको समस्या नभएकाले पनि जाडो महिनामा हिटरको माग र प्रयोग बढ्न थालेको छ ।
चिसो शुरू भएसँगै नेपाली तथा विदेशी विभिन्न ब्राण्डका हिटरको माग बढ्दै गएको व्यापारीहरू बताउँछन् । महाबौद्धमा विगत १५ वर्षदेखि विद्युतीय सामग्रका पसल गर्दै आएका गणेश शाह सिजनअनुसार व्यापार विस्तारै बढ्दै गएको बताउँछन् । ‘धेरै पहिलेदेखिको पसल भएकाले हामीसँग पुराना ग्राहक छन् । चिसो बढेसँगै उनीहरू सामान किन्न आइरहेका छन्, व्यापार ५, १० प्रतिशतले विस्तारै बढ्दै गएको छ ।’
तर सोही ठाउँका अर्का व्यापारी अनिल ताम्राकार भने पोहोरको तुलनामा व्यापार २० प्रतिशतले घटेको बताउँछन् । उनी भन्छन्, ‘नेपालीहरूको अहिले आय स्रोत पनि कम छ, जसले गर्दा उनीहरूमा सामान उपभोग गर्ने इच्छा हुँदा पनि खरिद गर्न सक्दैनन् । त्यो हिसाबले पनि अहिले व्यापार निकै कम छ ।’
यस्तै विगत ५ वर्षदेखि महाबौद्धमा इलेक्ट्रिक सामानको व्यापार गर्दै आएका रोशन तुलाधारको पनि समस्या उस्तै छ । गत वर्षदेखि नै व्यापार घट्दै गएको उनी बताउँछन् ।
यसरी अर्थतन्त्रमा आएको संकुचनको प्रभाव उपभोग्य वस्तुमा समेत परेको देखिन्छ । उपभोक्ताको माग बढ्न नसक्दा साना व्यवसायी व्यवसाय धान्ने नसक्ने अवस्थामा पुगेको बताउँछन् । पसल खुलेर पनि कारोबार नभएपछि उनीहरुमा निराशाा छाएको छ । हिजो–आज बजारमा अत्यावश्यक र दैनिक उपभोग्य सामानबाहेकको कारोबारो नभएको व्यवसायीहरूको भनाइ छ ।