फागुन-१९ , काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री ८२ वर्षीय भरतमोहन अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भयो । नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टि अघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीको पार्थिव शरीरलाई नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ति दिए। अन्त्येष्टि अघि आर्यघाट पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए ।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका अधिकारीले ‘बृद्धभत्ता’ र ‘आफ्नो गाउँ आफैं बनाऔं’ जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । उनले २०५१ सालमा सुरु गरेको बृद्धभत्ता अहिले मासिक २ हजार रुपैयाँ पुर्याइएको छ । तत्पश्चात बनेका सबै सरकारका अर्थमन्त्रीले यो कम्युनिष्ट सरकारको कार्यक्रम हो भनेर आज पर्यन्त हटाउने आँट गरेनन् ।
२०५१ सालमा पहिलो पटक निर्वाचित कम्युनिष्ट पार्टीका मनमोहन अधिकारी नेतुत्वको सरकारको निति तथा कार्यक्रम लेख्ने मध्येका एक पात्र डा. युवराज खतिवडा अहिलेको कम्युनिष्ट दुई तिहाई सरकारका अर्थमन्त्री छन् ।
अधिकारीले २०५१ पुस ११ गते निर्वाचित सरकारका तर्फबाट पहिलो पुरक बजेट ल्याए । त्यहि बजेटबाट उनले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रमका लागि ३-३ लाख रुपैयाँका दरले स्थानिय तहलाई बजेट बिनियोजन गरे । मासिक एक सय रुपैयाँका दरले ‘बृद्धभत्ता’ को कार्यक्रम समावेश गरे । अधिकारी बृद्धभत्तालाई ३ सय रुपैयाा र स्थानिय तहलाई ३ लाख भन्दा बढि दिन चाहन्थे तर श्रोतले धान्न नसक्ने भए पछि अर्को आर्थीक वर्षका लागि असार २७ गते पुन: बजेट पेश गर्दै यी दुवै कार्यक्रमलाई निरन्तरता दिए ।
अधिकारीले देश विकासका लागि ‘नौ स’ का अभियान चलाए । त्यसमा ‘स्थानिय सडक, साना सिंचाई , स्वच्छ खानेपानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सिपमुलक तालिम र रोजगारी, सामुदायिक बृक्षारोपण, साना जलविधुतको विकासबाट ग्रामीण विद्युतिकरण तथा साना तथा घरेलु उद्योग’ सँग सम्बन्धित कार्यक्रम थिए । ‘सन्तुलित विकासमा नयाँ आयाम’ भन्ने नारा सहित सघन ढंगबाट देशका २०५ वटै निर्वाचन क्षेत्रमा उक्तकार्यक्रम संचालन गरियो ।
नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल भन्छन् – समावेशी अर्थतन्त्र अधिकारीको मान्यता थियो । त्यसकारण उहाँबाट नयाँ पुस्ताले जनताको मन र भावनासँग जोडिने बजेट कसरी बनाउने, लोकप्रिय बजेट कसरी बनाउने भन्ने सिक्नुपर्छ ।