केले सुनिश्चित गर्छ रोजगारी सुरक्षा ?

अनलाइनसमय |
२२ कार्तिक २०८१
केले सुनिश्चित गर्छ रोजगारी सुरक्षा ?

अस्मिता सापकोटा
काठमाडौं, २२ कार्तिक । आजको श्रम बजारमा रोजगारी सुरक्षा एक जटिल विषय बनेको छ । परम्परागत रूपमा मानिसहरू एउटै संस्थामा लामो समयसम्म काम गर्थे, जसले स्थायित्व र बफादारीलाई प्राथमिकता दिन्थ्यो । तर आजको श्रम बजार यस अनुसार चल्दैन । पछिल्ला केही वर्षहरूमा आर्थिक मन्दी, प्राविधिक परिवर्तन जस्ता कारणले धेरैजसो नेतृत्व तहका व्यक्तिहरूले आफ्नो रोजगारी गुमाएका छन् ।

पछिल्लो समय रोजगारीमा सुरक्षा सुनिश्चित गर्न लामो समयको प्रतिबद्धता भन्दा पनि औद्योगिक आवश्यकता अनुसार सीप विकास आवश्यक छ भन्ने स्थापित हुँदै गइरहेको छ । गिग (फ्रील्यान्स प्रधान श्रम बजार) अर्थतन्त्रले परियोजना आधारित कामलाई प्रोत्साहन गर्छ । यसमा रोजगारप्रति बफादार हुनुले मात्र स्थायित्व सुनिश्चित गर्न सक्दैन । त्यसैले आजको अस्थिर श्रम बजारमा कार्यकाल अवधिले रोजगारी सुरक्षा सुनिश्चित गर्छ भन्ने हुँदैन । तर मास्लोको आवश्यकताको सिद्धान्त अनुसार रोजगारी सुरक्षा महत्वपूर्ण छ । अहिलेको अनिश्चित र अस्थिर परिवेशमा नियमित आम्दानी, बढुवा जस्ता रोजगारी सुरक्षाले निम्न तथा मध्यम वर्गका लागि बढी अर्थ राख्छ ।

कुनै पनि रोजगार क्षेत्रमा लामो समय बसेकै आधारमा रोजगारी सुनिश्चित हुँदैन । उदाहरणका लागि भारत जस्तो देशमा परम्परागत इन्जिनियरिङ डिग्रीको लोकप्रियता भए तापनि धेरैजसो इन्जिनियर प्राविधिक विकास अनुसारको सीप नभएकै कारण बेरोजगार छन् ।

प्राविधिक विकास अनुसार दक्षता हासिल नभए रोजगारी लामो समय नरहन सक्छ । यद्यपि स्वास्थ्य र शिक्षा जस्ता केही उद्योगहरूमा भने निरन्तर मागको कारण स्थायित्व कायम हुन सक्छ । साथै सरकारी जागिर, डेटा वैज्ञानिक, इलेक्ट्रोनिक्स, बुककिपिङ जस्ता क्षेत्रमा बढी रोजगारी सुरक्षाको अनुभूति हुने जानकारहरू बताउँछन् ।

यसैगरी कोडिङसँग प्रत्यक्ष सम्बन्ध नराख्ने क्लाउड आर्किटेक्ट, डेटा आर्किटेक्ट, सफ्टवेयर डेभलपर, सोल्युसन आर्किटेक्ट लगायत आइटी क्षेत्रमा पनि रोजगारीको स्थायित्व पाउन सकिन्छ । तर कोडिङ गर्ने १० मध्ये मात्र २ जनाको रोजगारी सुरक्षित हुने जानकारहरूको भनाइ छ ।

पछिल्लो समय प्रायः कम्पनीहरूले कर्मचारीको अनुभवभन्दा पनि सीप, ज्ञान र नयाँ प्रविधि अनुसार ढल्न सक्ने क्षमतालाई बढी प्राथमिकता दिन थालेका छन् । उनीहरूले छिटो सिक्न सक्ने, प्रभावकारी रूपमा सहकार्य गर्न सक्ने र संस्थाको गतिशीलतामा योगदान दिन सक्ने कर्मचारीको खोजी गर्छन् । अहिले आवश्यकता अनुसार योग्यता नहुँदा कर्मचारीलाई कामबाट हटाउने क्रम बढेको छ । यस कारण कर्मचारीहरूले निरन्तर सीप विकासमा ध्यान दिनु आवश्यक छ ।

संस्थाको आवश्यकता अनुसार चल्न निरन्तर सिकाइलाई आत्मसात् गर्ने, व्यावसायिक सम्बन्ध कायम राख्ने, सीप विकास गर्ने लगायत काम गर्नुपर्छ । यसो गर्दा रोजगारीको सुरक्षा निश्चित रूपमा बढ्छ ।

रोजगारीको सुरक्षा कामदारका लागि मात्र नभएर रोजगारदाताका लागि पनि उत्तिकै महत्वपूर्ण छ । यसले कर्मचारीहरूलाई आवश्यक सीप विकास गर्न मद्दत पुर्‍याउँछ, जसबाट अन्ततः कम्पनीलाई नै लाभ हुन्छ ।

कामदार जति धेरै स्थायी भयो रोजगारदातालाई अन्य कामदार थप्नुपर्ने झन्झट कम हुन्छ । साथै पूराना कामदारप्रति विश्वास पनि बढी हुन्छ । त्यसैले रोजगारदाताले पनि कर्मचारीलाई रोजगारप्रति सुरक्षित महसुस गराउनुपर्छ । यसका लागि सीप विकासको अवसर, काम अनुसारको प्रोत्साहन र पुरस्कार प्रदान गर्नुपर्छ ।

(एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस