काठमाडौं, २२ कार्तिक । नेपाल पुनर्बीमा कम्पनी ११ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीको ११औं वार्षिकोत्सव समारोह कार्यक्रम होटल क्राउन इम्पेरियलमा बिहीबार भव्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दिप प्रज्वल्लन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
सो अवसरमा अध्यक्ष सिलवालले जोखिम व्यवस्थापनलाई प्राथमिकता दिदै नेपाल पुनर्बिमा कम्पनी को छिटो Rating गरि कम्पनीको कार्यक्षेत्र बिस्तार गर्न निर्देशन दिए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले पुनर्बीमा व्यवसाय मार्फत नेपालको आर्थिक स्थायित्व र दिगो विकासमा योगदान पुर्याउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाए ।
कम्पनीका अध्यक्ष देव राज ढुंगानाले कम्पनीको स्थापनाकालदेखि हालम्म आर्जन गरेको बीमा शूल्क, दाबी भुक्तानी, हालको नेटवर्थ तथा अन्य वित्तिय सूचकहरुका बारेमा प्रकाश पारे । ढुंगानाले कम्पनीको बाँकी रणनीतिक कार्य सम्पादन गर्न आवश्यक सबै तयारी निकट भविष्यमा पुरा गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमा कर्मचारीको योगदान र लगनलाई मूल्याङ्कन गर्दै उत्कृष्ट कर्मचारीहरुलाई पुरष्कृत गरिनुका साथै सबै बीमक कम्पनीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
आकस्मिक बीमा कोषको उत्तराधिकारी संस्थाको रूपमा नेपाल सरकार र निजी क्षेत्रको पहलमा वि.सं २०७१ कात्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनी स्थापना भएको थियो । विदेशी मुद्रा भित्राउन यस कम्पनीको स्थापना भएको थियो । विश्वका ३ दर्जन बढी देशमा व्यवसायिक सम्बन्ध स्थापित गरी कम्पनीले विभिन्न पोलिसी मार्फत करोडौं रुपैयाँ प्रिमियम नेपाल भित्राउन सफल भएको छ ।
कम्पनीले आफ्नो साखलाई अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरको अब्बल दर्जाको पुनर्बीमा कम्पनी बनाउने लक्ष्य राखेका छ ।
एघारौं वार्षिकोत्सवको अवसरमा कम्पनीले बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकताबारेको सन्देशसहित काठमाडौंमा प्रभातफेरि कार्यक्रम सम्पन्न गर्नुका साथै आन्तरिक फुटसल कार्यक्रम पनि आयोजना गरेको थियो । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आगामी वर्षहरूमा पनि बीमा क्षेत्रको सशक्तिकरणमा सक्रिय भूमिका खेल्ने आशा राखेको छ ।
१० अर्ब चुक्ता पुँजीबाट सुरु भएको यस कम्पनीको हाल १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ पुँजी पुगेको छ । कम्पनीमा नेपाल सरकारको ४४.०३९ प्रतिशत, नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताको ३९.९६१ प्रतिशत र सर्वसाधारण सेयरधनीको १६ प्रतिशत सेयर स्वामित्व छ ।