अस्मिता सापकोटा
काठमाडौं, २२ असोज । हाम्रा वरिपरि धेरै औषधीय गुण भएका वनस्पति छन् । तर हामीले जान अन्जानमा ती वनस्पतिका गुणलाई बेवास्ता गरिरहेका हुन्छौँ । परापूर्वकालदेखि नै औषधीय प्रयोगमा आएको तर यसका अन्य गुण भने भर्खरै पहिचान भएको वनस्पति हो मोरिङ्गा ।
मोरिङ्गा बहुउपयोगी वनस्पति हो । यसको फल तरकारी तथा सुपको रूपमा र पात सप्लिमेन्ट वा फेस प्याकको रूपमा प्रयोग गर्न सकिन्छ ।
यसलाई सित्तल चिनी, सजीवन, सहिजन, सोहिजन, ड्रम स्टिक ट्रि, हर्स रेडिस ट्रि, सोभान्जन लगायत नामले पनि चिनिन्छ । यसको साइन्टिफिक नाम मोरिङ्गा ओलिफेरा हो ।
मोरिङ्गा स्वास्थ्यलाई धेरै फाइदा पु¥याउने वनस्पति हो । यसका पात, जरा, फल, बोक्रा लगायत सबै भाग औषधीय गुणले भरिपूर्ण हुने जानकारहरु बताउँछन् । नेपालको तराई क्षेत्र तथा भारतका केही ठाउँमा यसको फल तरकारीको रूपमा खाने चलन छ । साथै यसलाई परम्परागत आयुर्वेदिक उपचारमा औषधिको रुपमा प्रयोग गरिँदै आएको पाइन्छ । विभिन्न प्रकारका भिटामिन तथा पोषक तत्वहरुको भरपुर स्रोत भएको मोरिङ्गालाई ‘सुपरफुड’ पनि भनिन्छ । पछिल्लो समय पश्चिमा देशहरुमा यसबाट बनेको सप्लिमेन्टको माग बढ्दो छ ।
जियोन मार्केट रिसर्चका अनुसार सन् २०२२ मा मोरिङ्गाको विश्वव्यापी बजार करिब ९.५ बिलियन अमेरिकी डलर रहेको थियो भने २०३० सम्ममा १८.२ बिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
मोरिङ्गा उष्ण हावा पानीमा पाइने दक्षिण एशिया तथा अफ्रिकाको रैथाने वनस्पति हो । हालसालै लोकप्रियता बढेसँगै अमेरिका, इंगल्याण्ड, लगायत देशमा यसको व्यावसायिक खेती शुरु गरिएको छ । साथै नेपालमा पनि केही मात्रमा यसको व्यावसायिक खेती शुरू भएको छ ।
मोरिङ्गामा अन्य वनस्पतिमा भन्दा धेरै मात्रामा पौष्टिक तत्व पाइन्छ । यसमा भिटामिन, खनिज, क्याल्सियम, प्रोटिन, आइरन, ओमेगा थ्री, ओमेगा सिक्स, फ्याटी एसिड, १८ देखि २० प्रकारका एमिनो एसिड लगायत ९२ भन्दा बढी पोषक तत्वहरू रहेको केही अध्ययनले देखाएका छन् । साथै यसमा शरीरलाई अत्यावश्यक तर शरीरले आफै उत्पादन गर्न नसक्ने ९ ओटा एमिनो एसिडसहित ४६ एन्टिअक्सिडेन्ट तथा ३६ एन्टि–इन्फ्लेमेटरी गुण पनि रहेको उक्त अध्ययनबाट देखिएको छ ।
मोरिङ्गाको प्रयोगबाट एनेमिया, दम, ब्रोन्काइटिस, मधुमेह, आँखा तथा कानको संक्रमण, ज्वरो, टाउको दुख्ने लगायत रोग न्यूनीकरण गर्न सकिने अध्ययनहरूले प्रमाणित गरेका छन् । साथै यसले उच्च रक्तचाप, कोलेस्ट्रोल, जोर्नी दुख्ने, हार्मोनल डिसब्यालेन्स जस्ता समस्या सन्तुलनमा राख्न मद्दत गर्ने केही अध्ययनकर्ताहरूको भनाइ छ ।
बहुउपयोगी मोरिङ्गाका अन्य औषधीय गुणहरू :
१.सूजन हुन नदिने
मोरिङ्गामा सूजन विरुद्ध लड्न सक्ने क्षमता हुन्छ । हार्वर्ड हेल्थका अनुसार क्यान्सर, हृदय रोग लगायतका रोग लाग्दा वा कुनै अंगमा संक्रमण हुँदा उक्त भाग सूजन हुन्छ । मोरिङ्गा जस्ता सूजन हुन रोक्ने सप्लिमेन्टको सेवनले यस्ता रोग लाग्ने सम्भावना कम गर्छ । साथै यसमा केही मात्रामा प्राकृतिक एन्टिहिस्टामाइन (हे फिबर, हाइभ्स, कनजक्टिभाइटिस् तथा कीराको टोकाइ जस्ता एलर्जीका लक्षणहरू कम गर्न प्रयोग गरिने औषधि) पनि हुन्छ ।
२. प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ
मोरिङ्गामा भिटामिन सी, भिटामिन ए, भिटामिन ई, क्याल्सियम, पोटासियम, आइरन, म्याग्नेसियम, फस्फोरस जस्ता विभिन्न पोषक तत्वहरूको मिश्रण छ । यस्ता तत्वले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र सम्भावित रोगहरूविरुद्ध लड्न मद्दत गर्छन् । साधारण आहारले मात्र यस्ता पोषक तत्वहरूको आवश्यकता पूरा नहुन सक्छ, यस्तोमा मोरिङ्गाको सेवनले शरीरलाई फाइदा गर्छ ।
३. छिट्टै बुढो देखिनबाट जोगाउँछ
मोरिङ्गाबाट बनेका उत्पादन फेस सीरम, फेस प्याकको रुपमा बजारमा प्रशस्त पाइन्छन् । यसमा भएको एन्टी–इन्फ्लामेटरी गुणले छालाको हेरचाह लगायत एन्टी–एजिङमा पनि मद्दत गर्न सक्छ । बुढ्यौलीको असर कम देखाउन तथा छालालाई चम्किलो बनाउन यसबाट बनेका सप्लिमेन्टको सेवन तथा कस्मेटिकको प्रयोग गर्न छाला विशेषज्ञहरू सुझाउँछन् । साथै यसमा हुने बिटा–क्यारोटिनले छालाको स्वास्थ्यमा राम्रो गर्छ ।
४. कोलेस्ट्रोलका साथै रगतमा चिनीको मात्रा कम गर्छ
मोरिङ्गामा भएका तत्वले शरीरमा कोलेस्ट्रोलको स्तर सुधार गर्छ । साथै यसमा भएको भिटामिन, खनिज र एन्टिअक्सिडेन्टका कारण समग्र मुटुको स्वास्थ्यमा सुधार हुन सक्छ ।
मोरिङ्गाको सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने भए तापनि यसको जरा तथा जराको बोक्रामा भने विषाक्त पदार्थहरू समेत हुने भएकाले यसको प्रयोग गर्दा भने अत्यधिक सचेत हुनुपर्ने देखिन्छ । साथै अन्य औषधिको सेवनसँगै यसको सेवन गर्दा पनि यसले असर गर्न सक्छ । त्यसैले अन्य औषधिको प्रयोग गरिरहेका बिरामीले भने डाक्टरको सल्लाह बमोजिम मात्र यसको सेवन गर्नु उपयुक्त हुने विशेषज्ञहरू बताउँछन् ।
(एजेन्सीको सहयोगमा)