• ताजा समाचार, स्वास्थ्य, स्वास्थ्य/जीवनशैली

    कफी : स्वास्थ्यलाई कति लाभ, कति हानि ?

     168 Views
    कफी : स्वास्थ्यलाई कति लाभ, कति हानि ?

    अस्मिता सापकोटा
    काठमाडौं, २० असोज । नेपालमा चिया कफीका पारखी धेरै भेटिन्छन् । प्रायः नेपालीको दिनको सुरुवात नै चिया कफीको चुस्कीबाट हुन्छ । अचेल त सामाजिक सञ्जालमै पनि चियाकफी पारखीबारे धेरै व्यंग्यात्मक लेखहरू देख्न पाइन्छ । स्वाद फरक भए तापनि एकै प्रयोजनका लागि पिइने तथा एकअर्काका परिपूरक जस्ता देखिने चियाकफीलाई दिदि बहिनी भन्दा सायदै फरक पर्ला ।

    चियालाई परम्परागत पेय मानिए तापनि नेपालमा भने चिया पिउने चलन भने १९औँ शताब्दीदेखि मात्र शुरू भएको पाइन्छ । कफीको सुरुआत भने २०औं शताब्दीको मध्यबाट प्रचलनमा आएको थियो । सुरुआतमा कफी धनाढ्य वर्गमा मात्र प्रचलित थियो ।

    अचेल चियाकफीका अड्डा तथा क्याफे सहर बजारमा प्रशस्त भेटिन्छन् । आज भने हामी सर्वप्रिय पेय कफीको डाइजेस्टिभ केमेस्ट्रीबारे चर्चा गर्छौं ।

    नेपालका पहाडी जमीनमा खेती गरिने कफी जर्मनी, स्विजरल्याण्ड, अमेरिका जस्ता देशमा समेत निर्यात हुन्छ । साथै यी देशहरूले नेपालको कफीलाई अत्यधिक मन पराएको पनि देखिन्छ । प्रायः सबैलाई मन पर्ने कफीले केहीलाई भने बिसन्चो गर्न सक्छ ।

    बिहान उठ्ने बित्तिकै धेरैले खाली पेटमा चिया वा कफी पिउँछन् । यसरी खाली पेटमा चियाकफी पिउँदा स्वास्थ्यमा असर गर्छ भन्ने भाष्य छ । खाली पेटमा कफी पिउदा साँच्चै बेफाइदा गर्छ त ?

    खाली पेटमा कफी पिउँदैमा यसले हानि गर्छ नै भन्ने हुँदैन । तर कफीमा अत्यधिक चिनीको प्रयोगका कारण यसबाट हानि पुग्न सक्ने केन्टकीस्थित ग्यास्ट्रो एन्टेरोलोजिस्ट डा. सुनाना सोही बताउँछिन् । तर शुद्ध कफी शताब्दीयौंदेखि औषधीय रूपमा प्रयोग हुँदै आएको तथा यसले ग्यास्ट्रोइन्टेस्टाइनल ट्य्राक्टलाई धेरै फाइदा गर्ने उनको भनाइ छ ।

    यद्यपि कफीले पेटमा एसिडको स्तरमा भने हेरफेर गर्न सक्छ । त्यसैले यसको सेवनबाट केही व्यक्तिमा खाना नपच्ने समस्या देखिन सक्छ, जसलाई डिस्पेप्सिया भनिन्छ । यस्तो हुने मानिसले कफी नपिउनु नै राम्रो हुने ग्यास्ट्रो एन्टेरोलोजिस्टहरू बताउँछन् ।

    कफी आफैमा एक अम्लीय पेय हो । साथै क्याफिनले ग्यास्ट्रिक एसिड उत्पादन गर्ने ग्यास्ट्रिन हार्मोनको उत्पादनलाई बढाउन समेत मद्दत गर्छ । यसबाट पाचन प्रक्रियामा सहयोग पुग्नुका साथै पेटमा एसिडिटी पनि बढ्छ । कफीमा पाइने फिनोल (एक प्रकारको यौगिक)ले पनि पेटको एसिडिटी बढाउँछ ।

     

    पेटमा एसिडिटीे बढ्दा के हुन्छ ?

    कफीको पीएच स्तर लगभग ५ हुन्छ, जबकि ग्यास्ट्रिक एसिडको भने २ मात्र हुन्छ । यसैले कफी पिउँदा पेटमा एसिडको स्तर बढ्छ । यस्तोमा पेट कफीको पीएच साथै ग्यास्ट्रिक एसिडको पीएच दुवैको सन्तुलन कायम राख्न सक्षम हुनुपर्छ ।

    मानिसले जे खाँदा पनि ग्यास्ट्रिक एसिडको उत्पादन हुन्छ, तर कफी पिउँदा भने यसको मात्रा झनै बढी हुन्छ । केही मानिसमा पेटले कफीको पीएचका साथै ग्यास्ट्रिक एसिडको पीएच दुवैको सन्तुलन कायम राख्न असक्षम हुन्छ । त्यसैले यस्ता मानिसमा खाली पेटमा कफी पिउँदा पेट फुल्ने, पेट दुख्ने वा वाकवाकी लाग्ने जस्ता समस्या देखिन्छ ।

    खानाबाट निस्कने वा पेटमा आफै उत्पादन हुने एसिड आफैमा समस्या होइन । तर कतिपयमा भने ग्यास्ट्रिक एसिडको अत्यधिक उत्पादन अन्ननलीले सामना गर्न सक्दैन । त्यसैले केहीलाई पेट फुल्ने, पेट दुख्ने जस्ता सामान्य असहजता पैदा हुन सक्छ । तर यसबाट कुनै जटिल समस्या भने ननिम्तिने केही अध्ययनले देखाएका छन् ।

    (एजेन्सीको सहयोगमा)

     

    यसमा तपाइको मत

    Facebook Comment