• ताजा समाचार, स्वास्थ्य, स्वास्थ्य/जीवनशैली

    कसरी छनोट गर्ने डायटरी सप्लिमेन्ट ?

     158 Views
    कसरी छनोट गर्ने डायटरी सप्लिमेन्ट ?

    अस्मिता सापकोटा
    काठमाडौं, १९ असोज । शरीरमा पोषणको मात्रा बढाउन सेवन गरिने पदार्थ नै डायटरी सप्लिमेन्ट हो । भिटामिन, खनिज पदार्थ, विभिन्न जडिबुटी, एमिनो एसिड जस्ता खाद्यपदार्थको मिश्रण नै डायटरी सप्लिमेन्ट हुन् । यस्ता सप्लिमेन्ट क्याप्सुल, तरल पदार्थ तथा पाउडरका रूपमा बजारमा प्रशस्त उपलब्ध छन् ।

    प्रतिरक्षा प्रणाली तथा समग्र स्वास्थ्य सुधारका लागि कोभिडपछि विश्वका सबै देशहरूमा यसको माग बढेको छ । यसबाट नेपाल पनि अलग छैन । पछिल्लो समय नेपालमा पनि यसको खपत बढेको देखिन्छ ।

    फर्चुन बिजनेस इन्साइट्सका अनुसार सन् २०२३ मा भिटामिन तथा सप्लिमेन्टको विश्वव्यापी बजार १४६.१४ बिलियन अमेरिकी डलर रहेको थियो भने २०२४ मा यसले १५४.९८ बिलियन डलर नाग्ने अनुमान गरिएको छ । यसैगरी सन् २०३२ सम्म यसको आकार बढेर २५०.५० बिलियन डलर पुग्ने सम्भावना छ ।

    नेपालमा डायटरी सप्लिमेन्टको खपत बढे तापनि यसको उत्पादन र वितरणलाई नियन्त्रण गर्ने तथा गुणस्तर मापन गर्ने निकाय भने छैन । यसैमाथि केही सप्लिमेन्टका नकारात्मक असरबारे बेलाबेलामा आइरहने समाचार तथा जानकारीले सबै खालका डायटरी सप्लिमेन्ट विश्वसनीय नभएको देखाउँछ । त्यसैले धेरैका लागि सप्लिमेन्टको छनोटमा अन्योल हुन सक्छ ।

    कुनै पनि डायटरी सप्लिमेन्ट बजारमा जानुअघि खाद्य तथा औषधिको क्षेत्रमा नियमन गर्ने निकायले यसको प्रभावकारिता तथा असरका बारेमा खासै मूल्याङ्कन गरेको पाइँदैन । यसकारण पनि यस्ता सप्लिमेन्ट सुरक्षा तथा प्रभावकारिताका दृष्टिले कतिको अब्बल छन् भन्न गाह्रो छ । साथै यसमा उत्पादक कम्पनीहरूले दाबी गर्ने तत्वहरू समावेश हुन्छ कि हुँदैन भन्ने यकिन गर्न समेत कठिन छ ।

    यस सम्बन्धी गरिएका धेरै अध्ययनहरूले केही सप्लिमेन्टमा प्याकेजिङको लेबलमा भएका तत्व र यिनमा साँच्चै भएका तत्वमा ठूलो भिन्नता फेला पारेका छन् ।

    यसैले केही सप्लिमेन्टहरुको बाहिरी खोलमा भएको मूल्य तथा समावेश गरिएका भनिएका तत्वहरुको सूची हेरेर यसको गुणस्तर थाहा पाउन गाह्रो हुने औषधि विशेषज्ञहरू बताउँछन् ।

    महँगा सप्लिमेन्ट सबै गुणस्तरीय हुन्छ भन्ने हुँदैन । सामान्यतया सस्ता र महँगा सप्लिमेन्ट बीचमा थोरै मात्र भिन्नता हुन्छ । यो भिन्नता पनि सप्लिमेन्टमा समावेश गरिएका केही तत्व तथा प्याकेजिङमा केही फरक पनाले गर्दा हुने उनीहरूको भनाइ छ ।

    केही सीमित खोज तथा अध्ययनको अधारमा सप्लिमेन्टको विकास, उत्पादन तथा वितरण सुरु गरिएको हो । हालैको एक अध्ययनले सप्लिमेन्टको सेवन मात्रले स्वास्थ्यमा खासै असर नपर्ने देखाएको छ भने सप्लिमेन्ट सहित आहारमा ध्यान दिएमा मात्रै स्वास्थ्यमा सुधार हुने देखिन्छ ।

    साथै यस सम्बन्धी खोज गर्ने वैज्ञानिकलाई समेत यसले कसरी काम गर्छ । यसमा भएका तत्वको मात्राले शरीरले पोषक तत्वहरू सोस्ने तरीकामा कसरी र कति मात्रामा फरक पार्छ भन्नेबारे धेरै कुरा थाहा नभएको क्यालिफोर्निया विश्वविद्यालयका औषधि विज्ञानका प्राध्यापक महताब जाफरी बताउँछन् ।

    प्राकृतिक पोषक तत्वहरु सिंथेटिक तत्व भन्दा फरक हुने कारण यसो भएको उनको भनाइ छ । साथै यसबारे हुनुपर्ने जति अध्ययन नभएकाले पनि सप्लिमेन्टले यसरी नै काम गर्छ भन्ने यकिन नभएको उनी बताउँछन् ।

    विश्वबजारमा अनगिन्ती सप्लिमेन्टका ब्राण्ड छन् । साथै सबै उत्पादकले आफ्नो उत्पादनलाई नै गुणस्तरीय भनेर प्रचार गरिरहेका हुन्छन् । यस्तोमा सप्लिमेन्टको छनोट गाह्रो कुरा हो । गुणस्तरीय सप्लिमेन्ट छनोट गर्ने केही तरिका ः

    – सोयाबिनको तेल जस्ता फिलरहरू, कीटनाशक, पारा तथा सिसा जस्ता धातु लगायत शरीरलाई हानि पु¥याउने पदार्थहरु नभएको सप्लिमेन्ट गुणस्तरीय हुन्छन् ।

    –सप्लिमेन्टमा प्रयोग भएका तत्वहरुको बारेमा सम्पूर्ण जानकारी दिने तथा उत्पादन प्रक्रिया पारदर्शी भएका उत्पादकहरुबाट मात्र खरिद गर्ने ।

    –सप्लिमेन्टको पनि डोज हुनुपर्छ । थोरै मात्र खाँदा यसले पर्ने प्रभाव कम हुन सक्छ भने मात्रा धेरै हुनाले स्वास्थ्यमा गम्भीर असर समेत पर्न सक्छ । त्यसैले उचित डोज तोकिएको सप्लिमेन्ट मात्र सेवन गर्नुपर्छ ।

    भिटामिनको डोज धेरै भएका तथा कलेजोलाई हानि पु¥याउने तत्व भएका सप्लिमेन्टका कारण कलेजोमा असर पुगेका घटनाहरू धेरै भएको जाफरी बताउँछन् ।

    –सप्लिमेन्टको सेवन सुरु गर्नुअघि डाक्टर, फार्मासिस्ट वा आहार विशेषज्ञसँग परामर्श लिनु महत्वपूर्ण हुन्छ ।

    गर्भावस्था, हृदय रोग तथा मधुमेह लगायतका बिरामीहरुलाई शरीरमा पोषक तत्वको कमी हुन नदिन केही सप्लिमेन्टहरु दिइने गरिएको जाफरी बताउँछन् । स्वस्थ व्यक्तिलाई यसको आवश्यकता नहुने उनको भनाइ छ ।

    –सप्लिमेन्टको गुणस्तर, परीक्षण कम्पनीको जाँचबाट पनि थाहा पाउन सकिन्छ । एक स्वतन्त्र परीक्षण कम्पनीले जाँच गरेको र त्यसको सेवनबाट कुनै असर नपर्ने पुष्टि भएको सप्लिमेन्ट सेवन गर्न सकिन्छ ।

    युएस फर्माकोपिया (युएसपी), नेसनल स्यानिटेसन फाउन्डेसन (एनएसएफ) तथा कन्जुमरल्याब डटकम लगायत कम्पनी सप्लिमेन्टको परीक्षण गर्ने स्वतन्त्र संस्था हुन् ।

    प्याकेजिङ लेबलमा युएस पी तथा एनएसपी प्रमाणीकरण ब्याज भएका सप्लिमेन्ट सेवन गर्न औषधि विशेषज्ञहरु सुझाउँछन् ।

    सप्लिमेन्टको सेवन गर्नुपूर्व यसबारे भएका वैज्ञानिक अध्ययनहरू, उत्पादकको वेबसाइट आदि हेरेर भरपर्दो उत्पादन छान्न सकिन्छ । यसरी डाक्टरको उचित परामर्श तथा आफ्नो खोजबाट गुणस्तरीय र भरपर्दो सप्लिमेन्टको छनोट गर्न सकिन्छ ।

    (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    Facebook Comment