अस्मिता सापकोटा
काठमाडौं, १६ असोज । मौरीले फूलको रस चुसेर बनाएको महमा बहुउपयोगी औषधीय गुण हुन्छ । यो धेरैलाई थाहा भएको कुरा हो । तर फूलको रस चुस्दा मौरीको खुट्टा तथा पखेटामा टाँसिएको फूलको पराग पनि मौरीले उपयोग गर्छ र यो मानिसका लागि पनि उपयोगी छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । आज हामी मौरीको खुट्टा तथा पखेटामा टाँसिएर मौरीको घारसम्म पुग्ने फूलको पराग र यसका उपयोगिताबारे चर्चा गर्छौं ।
के हो बी पोलेन ?
फोरेजर भनिने कर्मी मौरीहरूले फूलको बोटमा डुलेर सङ्कलन गरेको पराग नै बी पोलेन हो । बी पोलेनलाई एम्ब्रोसिया वा बी ब्रेड भनेर पनि चिनिन्छ । यसमा मौरीको स्राव लगायत अन्य इन्जाइमहरूको मिश्रण हुने भएकाले यो फूलको परागभन्दा फरक हुन्छ । साथै यसमा फूलको परागमा भन्दा धेरै पोषक तत्वहरू उपलब्ध हुन्छ । यसलाई मौरीले घारको खाली कोठामा भण्डारण गरेको हुन्छ ।
बी पोलेन कसरी बन्छ ?
फूलको पराग नै बी पोलेनको मुख्य स्रोत हो । पराग सङ्कलन गर्ने मुख्य जिम्मेवारी फोरेजर मौरीको हुन्छ । फूलको रसलाई पचाउन नसक्ने अवस्थाका कर्मी मौरी नै फोरेजर मौरी हुन् । उनीहरूले परागले भरिएका फूलहरूबाट सङ्कलन गरेको पराग घारमा फर्केपछि अन्य कर्मी मौरीहरूलाई दिन्छन् । कर्मी मौरीले उक्त पराग घारको खाली कोठामा भण्डारण गर्छ । सङ्कलन तथा भण्डारण प्रक्रियामा परागमा मौरीको लार (¥याल)को स्राव लगायत अन्य इन्जाइम मिसिएर बी पोलेन बन्छ ।
मौरीले बी पोलेन केमा प्रयोग गर्छन् ?
मुख्यतया बी पोलेन मौरीले लार्भालाई खुवाउन प्रयोग गर्छन् । यसबाट लार्भाले बढ्न चाहिने आवश्यक पोषक तत्व पाउँछन् । यसका साथै युवा मौरीहरूले पनि उक्त पराग सेवन गर्छन् । रानी मौरीको रूपमा छनोट भएको लार्भाले पनि पराग मिश्रित रोयल जेली सेवन गर्छ । रोयल जेली फूलको पराग र कर्मी मौरीको ग्रन्थिबाट निस्किएको रसायन मिलेर बनेको हुन्छ । यसमा भिटामिन बी लगायत अन्य पोषक तत्वहरू हुन्छ जसले एउटा लार्भालाई स्वस्थ रानी बन्न मद्दत गर्छ । ड्रोन तथा कर्मी मौरीहरूले पनि उनीहरूको विकास केही दिन उक्त जेली सेवन गर्ने मौका पाउँछन् । तर रानी मौरीले भने आफ्नो विकास काल भरि उक्त पदार्थ खान पाउँछ ।
बी पोलेनको रासायनिक संरचना
बी पोलेनको रासायनिक संरचना कर्मी मौरीले पराग सङ्कलन गर्न प्रयोग गर्ने बोटबिरुवामा निर्भर गर्छ । त्यसैले यसमा यो रसायन, यति नै मात्रामा छ भन्न सकिँदैन । एउटै मौरीको घारबाट निकालिएको पोलेनमा पनि फरक फरक रासायनिक संरचना हुन सक्छ । यसको रासायनिक संरचनामा एकरूपता नभए तापनि औसतमा यसमा ४० देखि ६० प्रतिशत ग्लुकोज तथा फ्रुक्टोज, २० देखि ६० प्रतिशत प्रोटिन, ३ प्रतिशत भिटामिन र खनिज, १÷३२ प्रतिशत फ्याटी एसिड लगायत ५ प्रतिशत अन्य कम्पोनेन्टहरू समावेश हुन्छन् ।
बी पोलेनका फाइदा
बी पोलेनमा शरीरलाई आवश्यक रासायनिक पोषक तत्वहरू हुने भएकाले यसको सेवन मानव मानव शरीरका लागि फाइदाजनक छ ।
यसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने एक अध्ययनले देखाएको छ । साथै केही अनुसन्धानका अनुसार यसले शरीरमा कोलेस्ट्रोलको स्तर र रगतको लिपिड घटाएर हृदय रोग लाग्नबाट बचाउँछ । यसरी नै जलेको वा अन्य घाउहरू निको पार्न पनि बी पोलेन उपयोग गर्न सकिन्छ । यसले ब्याक्टेरियालाई नष्ट गरेर घाउ निको हुने प्रक्रियालाई गति दिन्छ ।
बी पोलेनमा हुने ग्लुकोज, फ्रुक्टोज, प्रोटिन, भिटामिन, खनिज लगायत पोषक तत्वले शरीरलाई तन्दुरूस्त राख्न मद्दत गर्छ । यसलाई खाना, दही, दुध वा सलादमा मिसाएर वा छुट्टै पूरकको रूपमा पनि सेवन गर्न सकिन्छ ।
(एजेन्सीको सहयोगमा)