अस्मिता सापकोटा
काठमाडौं, १० असोज । आँखा बाहिरी संसार हेर्ने झ्याल हो । आँखाविना हामी यो संसारको कल्पना पनि गर्न सक्दैनौं । आँखामा ज्योति भएरै यो संसार यति उज्यालो छ । बाहिरी संसार हेर्न होस् या मनका भावना व्यक्त गर्न यसको ठूलो महत्व छ । कतिपय शब्दमा बयान गर्न नसकिने मनका भावना आँखैबाट छचल्किन्छन् । यसलाई पाँच ज्ञानेन्द्रियमध्येको सबै भन्दा बढी संवेदनशील अंग पनि मानिन्छ । यस्तो गुणकारी अंगमा कहिलेकाहीँ लापरबाहीका कारण समस्या उत्पन्न हुन्छ । कतिपयले समस्या उत्पन्न नहुन्जेल यसको हेरचाहमा खासै ध्यान दिएको पाइँदैन । समयमै सावधानी नअपनाउँदा बुढेसकालमा दृश्य क्षमता कमजोर हुने, विभिन्न संक्रमण हुने जस्ता समस्या देखापर्न सक्छन् । यस्तो हुन नदिन समयमै आँखाको हेरचाह तथा सुरक्षामा ध्यान पु¥याउनु आवश्यक हुन्छ । यसको सुरक्षाका लागि तल उल्लेख गरिएका उपाय अपनाउन सकिन्छ ।
१. लामो समयसम्म स्क्रिनमा नहेर्ने
मोबाइल, ल्यापटप, कम्प्युटर जस्ता विद्युतीय सामग्री प्रयोग गर्दा लामो समयसम्म स्क्रिनमा हेरिरहनाले युवाहरूमा मायोपिया (टाढाको वस्तु धमिलो देखिनु)को जोखिम बढ्ने देखिन्छ । २०–२०–२० को नियम पालना गरेर यस समस्याको न्यूनीकरण गर्न सकिने डाक्टरहरु बताउँछन् । यसमा २० मिनेटको समयावधिमा २० सेकेन्डका लागि २० फिट दूरीमा हेर्नुपर्छ । यस नियमको पालना गर्दा आँखालाई तनाव कम हुने र यसले समग्र आँखाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने उनीहरूको भनाइ छ ।
२. प्रत्यक्ष सूर्यमा नहेर्ने
सूर्यलाइ नाङगो आँखाले हेर्दा आँखाको भित्री भागमा रेटिनामा नकारात्मक असर पर्न सक्छ । साथै सूर्यग्रहणको समयमा सूर्यलाई प्रत्यक्ष हेर्नाले त झनै धेरै नराम्रो असर पर्ने र यसबाट गम्भीर समस्या निम्तिन सक्ने आँखा विशेषज्ञहरु बताउँछन् । साथै यस्तो बेलामा सनग्लासको प्रयोगले पनि यसको असरलाई रोक्न नसक्ने उनीहरुको भनाइ छ । सूर्यमा हेर्नै परेमा सनग्लासको सट्टामा आँखालाई उचित सुरक्षा गर्ने अन्य ग्लासहरुको प्रयोग गर्न सकिन्छ ।
३. धूमपान नगर्ने
धूमपान गर्ने मानिसलाई धेरै रोगहरु लाग्ने सम्भावना हुन्छ । केही रोगहरुले त आँखामा समेत नकारात्मक असर पार्छन् । धेरै नै धूमपान गर्ने मानिसहरुको रेटिना कमजोर हुने र राम्ररी काम गर्न नसक्ने आँखा विशेषज्ञहरु बताउँछन् । साथै यसले मोतियाबिन्दु हुने सम्भावना पनि बढाउने उनीहरुको भनाइ छ । यसरी नै यसबाट निस्किने धुँवाले आँखा सुक्खा बनाउनुका साथै कोर्नियालाई समेत असर गर्न सक्छ ।
४. सन्तुलित आहार सेवन गर्ने
चिनी र बोसो बढी भएको खानेकुरा खानु स्वास्थ्यका लागि नराम्रो हुनुका साथै यसले आँखामा समेत नकारात्मक असर पार्ने आँखा विशेषज्ञहरु बताउँछन् । यसरी नै मधुमेह जस्ता असन्तुलित आहारको कारण लाग्ने रोगहरूले अन्धोपन समेत निम्त्याउने सम्भावना हुन्छ । आँखालाइ स्वस्थ राख्न खानामा विशेष ध्यान दिनुका साथै शारीरिक क्रियाकलापमा पनि सहभागी हुनु उत्तिकै आवश्यक रहेको उनीहरुको भनाइ छ ।
५. सुत्नुअघि कन्ट्याक्ट लेन्स तथा मेकअप हटाउने
आँखामा कन्ट्याक्ट लेन्स तथा मेकअप लगाउनाले पर्याप्त आँशु उत्पादन हुन पाउँदैन । यसले आँखा सुक्खा हुने जस्ता समस्या निम्त्याउन सक्छ । कर्नियाले राम्ररी काम गर्न पर्याप्त आँशुको आवश्यकता हुन्छ । लेन्स तथा मेकअप धेरै समय लगाउनाले आँसुको उत्पादनमा कमी आउँछ र उमेर बढ्दै जाँदा आँखामा विभिन्न समस्या देखिन सक्छ ।
६. कन्ट्याक्ट लेन्सलाई पानीले नधुने
कन्ट्याक्ट लेन्सलाई पानीले धुँदा लेन्सबाटै संक्रमण हुने सम्भावना हुन्छ । यसले कोर्नियल अल्सर जस्तो रोग निम्त्याउन सक्छ । जसले कालान्तरमा अन्धोपन पनि हुन सक्ने विशेषज्ञहरु बताउँछन् । यसैले पानीको सट्टामा लेन्सलाई कन्ट्याक्ट लेन्स सोलुसनले नै सफा गर्नुपर्छ ।
(एजेन्सीको सहयोगमा)