अस्मिता सापकोटा
काठमाडौं, ९ असोज । अटिजम भन्ने बित्तिकै हाम्रो दिमागमा राम्ररी हिँड्न र बोल्न नसक्ने बालबालिकाका अनुहार आउँछन् । स्वाभाविक हिसाबले बोल्ने, विद्यालय जाने र आफ्नो दैनिक गतिविधि सहजै गर्ने बालबालिका वा वयस्कमा पनि अटिजम होला भनेर हामीले कल्पना पनि गरेका हँुदैनौं । तर कतिपय यस्तो व्यक्तिहरुमा पनि अटिजम हुन सक्ने अध्ययनहरूले देखाउँछन् ।
अटिजमलाई अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडि) पनि भनिन्छ । यो एक न्यूरोलोजिकल डिसअर्डर हो । यसले मानिसको अन्तरक्रिया गर्ने, सञ्चार गर्ने, सिक्ने र व्यवहार गर्ने तरिकामा नराम्रो असर गर्छ । सामान्यतया यसका लक्षणहरू जीवनको प्रथम दुई वर्षमै देखा पर्ने भएकाले यसलाई ‘डेभलपमेन्टल डिसअर्डर’को रूपमा वर्णन गरिएको छ । यद्यपि कतिपय व्यक्तिहरुमा यसको सामान्य मात्र लक्षण देखिने हुँदा ८० प्रतिशत महिलाहरुमा १८ वर्षको उमेरसम्ममा पनि यो रोग पत्ता नलाग्ने हालैको एक अध्ययनले देखाएको छ ।
साथै शुरुवाती वर्षमै मानिसहरूले समाजमा अभ्यस्त हुन आफ्नो व्यवहार समायोजन गर्न सिक्ने भएकाले पनि यसको पहिचानमा समस्या आएको अटिजम क्लिनिकल विशेषज्ञ स्टेफनी गार्डनर–राइटको भनाइ छ । यसैगरी यो रोग पहिचान गर्न आन्तरिक भन्दा बाहिरी लक्षणहरुमा बढी केन्द्रित हुनुले पनि पहिचानमा समस्या भएको उनी बताउँछिन् ।
अटिजम सामान्यदेखि जटिल खालको हुन्छ । साथै यसका लक्षण पनि व्यक्ति व्यक्तिबीच फरकफरक हुन सक्छन् । अटिजम विशेषज्ञको अध्ययनको आधारमा तयार गरिएको वयस्कमा देखिने अटिजमका केही सम्भावित लक्षणहरु ः
१. अन्यभन्दा आफू बेग्लै भएको महसुस गर्नु
अधिकांश अटिस्टिक व्यक्तिहरुले सामान्यतया अरूले भन्दा बेग्लै महसुस गर्ने विशेषज्ञहरुको भनाइ छ । यद्यपि केही यस्ता वयस्क व्यक्तिहरुले आफू बेग्लै भएको कुरा सहजै स्वीकारेर त्यो भिन्नतालाई नै आफ्नो बलियो पक्ष बनाएर अघि बढ्ने गरेको देखिन्छ ।
२. सामाजिक संकेत बुझ्न कठिनाइ हुनु
अटिजम भएका व्यक्तिलाई कस्तो समयमा हाँस्ने, निराश हुने वा कति बेलासम्म आफ्ना भावना देखाउने भन्ने ज्ञान नहुने देखिन्छ । साथै कतिपय यस्ता व्यक्तिले समाजलाई स्वीकार्य हुने खालको भाव देखाउन नसक्ने विशेषज्ञहरु बताउँछन् ।
३. सम्बन्धमा अन्योलता
प्रायःजसो अटिस्टिक वयस्कहरूको सामाजिक सम्बन्ध जटिल र अन्योलपूर्ण हुने गरेको विशेषज्ञहरू बताउँछन् । साथै यस्ता व्यक्तिहरु धेरै भावनात्मक हुने गरेको उनीहरुको भनाइ छ ।
४. ‘सेन्सरी इनपुट’मा संवेदनशीलता
ध्वनि वा दृष्टिमा अतिधेरै संवेदनशीलता अटिजमको अर्को सम्भावित संकेत भएको विशेषज्ञहरु बताउँछन् । उनीहरु ध्वनिप्रति अतिसचेत हुन्छन् या त पूर्ण रूपमा अन्जान हुन्छन् । दृष्टिको हकमा पनि यस्तै हुने जानकारहरु बताउँछन् ।
५. एकैनासको दिनचर्या
अटिजम भएका धेरै मानिसहरू स्थिरता रुचाउँछन् । उनीहरुलाई धेरै झन्झट वा झमेलामा फस्न मन पर्दैन । त्यसैले उनीहरुले एकैनासको दिनचर्या अपनाउने गरेको पाइन्छ । साथै चलिरहेको दैनिकीमा केही खलल पर्नेबित्तिकै उनीहरुमा नैराश्य वा चिड्चिडाहट जस्ता आवेग पनि देखिन सक्छन् ।
६. एकान्तमा बस्न रुचाउनु
अटिजम भएका व्यक्ति प्रायः एकान्तमा बस्न रुचाउने हुन्छन् । समाजसँग घुलमिल हुनको लागि सामाजिक मर्यादा अनुसारको व्यवहार चाहिने हुनाले पनि उनीहरुले एकान्त मन पराउने विज्ञहरुको भनाइ छ ।
७. गहन रुचि हुनु
अटिजम भएका प्रायः व्यक्तिहरुले केही कार्य वा सामग्रीप्रति गहिरो रुचि राख्ने गरेको देखिएको छ । यसैगरी उनीहरूले एकै कार्य वा सामग्रीमा मात्र धेरै रुचि राख्दा अन्य आवश्यक कार्यहरूमा भने कम ध्यान दिने वा वास्ता नै नगर्नेे अटिजम विशेषज्ञहरु बताउँछन् ।
८. छोटो कुराकानी मन नपराउनु
कतिपय अटिजम भएका मानिसहरूमा छोटो कुराकानीले नैराश्य ल्याउने गरेको विशेषज्ञको भनाइ छ । साथै उनीहरुले छोटो कुराकानी भन्दा लामो र अर्थपूर्ण कुरा गर्न रुचाउने गरेको पाइन्छ ।
९. प्रत्यक्ष कुरा गर्नु
अटिजम भएका सबैजसो व्यक्ति प्रत्यक्ष कुरा गर्न रुचाउँछन् । उनीहरु कुरा घुमाएर गर्न नजान्ने हुन्छन् । साथै उनीहरु काममा इमानदार हुने गरेको पनि विशेषज्ञहरु बताउँछन् ।
(एजेन्सीको सहयोगमा)