अस्मिता सापकोटा
काठमाडौं, ८ असोज । बुढ्यौली लाग्नु प्राकृतिक नियम हो । मानिसको उमेर बढ्दै जाँदा बुढ्यौलीको असर देखिन्छ । यो मानिसमात्र नभई सबै सजीव प्राणीहरुमा लागु हुन्छ । बुढो हुन जो कोहीलाई रहर हँुदैन । तर यो अपरिहार्य छ । धर्तीमा जन्मिनु, वयस्क हुनु, बुढो हुनु र मृत्यु वरण गर्नु मानिसको जीवनचक्र हो ।
हामी किन बुढो हुन्छांै ? यो धेरैको जिज्ञासा हुन सक्छ । साथै यसकोे बारेमा अनुसन्धानकर्ताहरूबीच पनि बहस चलि नै रहेको छ । आनुवंशिक तत्वमा खराबी तथा उमेर बढेसँगै कोशिका र तन्तुहरूमा हुने क्षति जस्ता कारणले मानिस बुढो हुने केही अध्ययनहरुले देखाएका छन् । अहिलेसम्म यी कारणहरुलाई नै सर्वव्यापी मान्यता दिइएको छ ।
उमेर बढ्ने प्रक्रियालाई राम्रोसँग विश्लेषण गर्न अनुसन्धानकर्ताहरूले कोषीय र आणविक संकेतहरू पहिचान तथा वर्गीकरण गर्न थालेका छन् । त्यस्ता केही संकेतहरूले उमेर बढ्न योगदान पु¥याउने र बुढ्यौलीका विशेषता निर्धारण गर्ने उनीहरुको भनाइ छ । कुनै पनि कोशिका वा अणुको ह्रासले समयभन्दा अघि बुढ्यौली लाग्छ भने यसको सुधारले स्वास्थ्य कायम राख्न र आयु लम्ब्याउन सकिने अध्ययनहरुले देखाएका छन् ।
आज हामी मानिस बुढो हुनुका केही प्राकृतिक कारणहरुका बारेमा चर्चा गर्छौैं ।
१. ‘जिनोमिक’ अस्थिरता
मानिसको आनुवंशिक तत्व (डीएनए) सूर्यको विकिरण तथा माइटोकोन्ड्रियामा उत्पादन हुने प्रतिक्रियाशील अक्सिजनका कारण लगातार क्षति भइरहेको हुन्छ । मानिसको शरीरमा एक दिनमा लाखौं पटक डीएनए क्षति हुने अनुमान गरिएको छ । यसमध्ये धेरैजसो तुरुन्तै मर्मत हुन्छ भने केही मात्रामा मर्मत हुन पाउँदैन । उमेर बढ्दै जाँदा क्षति भएको डिएनए शरीरमै जम्मा भएर प्रतिकूल प्रभाव पार्न सक्ने अध्ययनहरुले देखाएका छन् । साथै यसले क्यान्सरको जोखिम समेत निम्त्याउन सक्छ । यसरी नै यसले कोशिकाको कार्यक्षमतामा पनि कमी ल्याउन सक्छ । जसको कारण बुढेसकालमा कुनै अंगले काम नगर्ने समेत हुन सक्छ ।
२. टेलोमेर डिग्रेडेसन
टेलोमेर जेनोमको क्रोमोजोमको अन्त्यमा रहेका सुरक्षात्मक क्यापहरू हुन् । यसले क्रोमोजोमको सुरक्षा गर्छ । प्रत्येक पटक कोशिकाहरू विभाजन हुँदा टेलोमेरको एउटा भाग हराउँछ । जति धेरै कोशिका विभाजित हुन्छन्, हामी त्यति नै बुढो हुन्छौं । यससँगै क्रोमोजोमहरु पनि छोटो हँुदै जान्छन् । अन्त्यमा कोशिकाहरू विभाजन हुनै नसक्ने गरि सानो हुन्छन् । त्यसपछि कि त मर्छन् कि त सुन्निन्छन् । यसले बुढ्यौली प्रक्रिया अघि बढाउनुका साथै रोग निम्त्याउन पनि सक्छ ।
३. एपिजेनेटिक चेन्जेज
मानिसको जीनोममा ३ अर्बभन्दा बढी न्यूक्लियोटाइड बेस पेयरहरु हुन्छन् । यसमा शारीरिक विकासका लागि चाहिने जानकारी हुन्छ । यसबाहेक यस्ता जानकारी हिस्टोन प्रोटिनमा भएका रासायनिक परिवर्तनहरूमा पनि संग्रहित हुन्छ । यी परिवर्तनहरूलाई एपिजिनोम भनिन्छ । जुन आहार, औषधि वा तनावको कारण पनि परिवर्तन हुन सक्छ । यसरी नै एपिजिनोम उमेरसँगै पनि परिवर्तन हुन्छ । डीएनए मेथिलेसन एक महत्वपूर्ण एपिजिनोम प्रक्रिया हो । हाम्रो डिएनएमा लाखौं साना मिथाइल समूह हुन्छन् । केवल ३५० मेथिलेसन साइटको डीएनए मेथिलेसन ढाँचाले कुनै व्यक्तिको जैविक उमेर सजिलै पत्ता लगाउन सकिन्छ । साथै हिस्टोन प्रोटिनको परिवर्तनका कारण कीरा वा झिंगाहरूको जीवनकाललाई प्रभाव पार्ने केही अनुसन्धानले देखाएका छन् । यसबाट एपिजेनोमले बुढ्यौली प्रक्रियामा प्रभाव पार्न सक्ने कुरा पुष्टि हुन्छ ।
४. प्रोटिओस्टासिसको हानि
प्रोटिन कोशिकाका लागि अत्यावश्यक तत्व हो । प्रोटिनको नियमन र व्यवस्थापन राम्रो भएमात्र कोशिकाहरू प्रभावकारी हुन्छन् । कोशिकाभित्र प्रोटिनलाई नियमन गर्ने प्रक्रियालाई प्रोटिओस्टासिस भनिन्छ । शरीरमा यसको उत्पादन र नियन्त्रणका लागि विभिन्न प्रणालीहरू छन् । अटोफेजी मानव कोशिकाहरूमा भएका नचाहिने र रोगग्रस्त प्रोटिनलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउने प्रक्रिया हो । यस प्रक्रियामा खराबी आउँदा क्षतिग्रस्त र काम गर्न नसक्ने प्रोटिनहरूको सञ्चय हुन्छ र यसले बुढ्यौली निम्त्याउँछ । साथै केही अध्ययनहरूले अटोफेजी प्रक्रिया उमेर बढेसँगै घट्दै जाने देखाएका छन् ।
५. पोषक तत्व सम्बन्धी गलत धारणा
आहारमा पोषणको कमी नगरी खानेकुरा घटाउनु डायटरी रेस्ट्रिक्सन (डीआर) हो । यसले मानिसको आयु लम्ब्याउन सक्ने र स्वास्थ्य सुधार गर्ने अध्ययनकर्ताहरुको भनाइ छ ।
कोशिकाहरूको वृद्धि र मेटाबोलिजम प्रक्रिया पोषक तत्वहरूको उपलब्धतासँग जोडिएको हुन्छ । तिनीहरूले पोषक तत्वहरूको स्तरलाई हार्मोन वा अन्य विशेष तत्वहरूको माध्यमबाट पहिचान गर्छन् । यसै अनुसार मेटाबोलिजमको समायोजन हुन्छ । सुरुमा डीआरका स्वास्थ्य लाभहरू कम क्यालोरी सेवनका कारण हुने सोचिएको थियो । तर पछिल्ला केही अध्ययनहरूले प्रोटिन लगायतका डाइटलाई घटाउनु र डीआरसँग सम्बन्धित उपवास अवधि कायम गर्नु स्वास्थ्य लाभका दृष्टिले महत्वपूर्ण रहेको देखाएका छन् ।
६. माइटोकोन्ड्रियाले काम गर्न छाड्नु
माइटोकन्ड्रिया कोशिकामा ऊर्जा उत्पादनका साथै मेटाबोलिक प्रक्रियाहरूको मुख्य केन्द्र हो । यीनीहरुले अक्सिजन प्रयोग गरेर ऊर्जा उत्पादन गर्छन् । यो प्रक्रियालाई माइटोकन्ड्रियल श्वासप्रश्वास भनिन्छ । यस प्रक्रियाबाट रियाक्टिभ अक्सिजन स्पेसिस (आरओएस) उत्पन्न हुन्छ । यसले डिएनए, लिपिड तथा प्रोटिनहरूलाई क्षति पु¥याउन सक्छ । यस क्षतिले कोशिकालाई नोक्सान गर्ने सम्भावना हुन्छ । आरओएसलाई पहिले उमेर बढ्नको मुख्य कारण मानिन्थ्यो । तर हालका अध्ययनहरूले आरओएसको बढ्दो स्तरले केही हदसम्म कोशिका सुरक्षा र मर्मत कार्यलाई सक्रिय बनाउन मद्दत गर्न सक्ने देखाएका छन् ।
७. सेलुलर सेन्सेन्स
कोशिकाहरु धेरै क्षति भएर विभाजन हुन नसक्ने अवस्थालाई सेलुलर सेन्सेन्स भनिन्छ । यस्ता कोशिकाहरुले साइटोकाइन जस्ता हानिकारक र अत्यधिक विभाजन हुने अन्य अणुहरुको उत्पादन गर्छन् । साथै आफ्नो वरिपरि भएका कोशिकाहरुलाई समेत नकारात्मक असर पु¥याउँछन् । यो टेलोमेर छोटो हुने, डीएनएमा क्षति वा माइटोकोन्ड्रियल डिसफंक्शन जस्ता कारणले हुन्छ । यो सामान्य तबरले उमेर बढ्दै जाँदा हुने प्रक्रिया हो ।
८. स्टेम सेलको कमी
स्टेम सेलले कुनै पनि हानिकारक वा सुस्त तन्तु वा कोशिकाहरुलाई मर्मत गर्छन् । यिनीहरुमा विभाजित भएर विभिन्न प्रकारका कोशिकामा परिवर्तन हुने क्षमता हुन्छ । साथै यिनले मानिसका अंगहरूलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छन् । उमेर बढ्दै जाँदा स्टेम सेलहरूमा कमी आउँछ र अंगहरू मर्मत हुने क्षमता घट्छ । जसका कारण बुढ्यौली लाग्छ ।
९. इन्फ्लामेजिङ
उमेर बढ्दै जाँदा सूजन (इन्फ्लामेसन) बढ्नुलाई ‘इन्फ्लामेजिङ’ भनिन्छ । युवाहरूमा सूजन चोटपटकको कारण हुन्छ र चोट निको भएपछि बन्द हुन्छ । तर वृद्धहरुमा यो निरन्तर रहन्छ । यसले तन्तुलाई हानि गर्छ र मोटोपन तथा टाइप टु मधुमेहजस्ता रोगहरू निम्त्याउन सक्छ ।
१०. डिस्बायोसिस
मानव शरीरमा ठूलो संख्यामा हुने ब्याक्टेरिया, फंगी, भाइरस लगायतका सूक्ष्मजीवहरूलाई माइक्रोबायोम भनिन्छ । स्वस्थ जवान व्यक्तिहरूमा रोगजनक ब्याक्टेरियाको उपस्थिति कम हुन्छ । भने उमेर बढ्दै जाँदा माइक्रोबयोममा रोगजनक ब्याक्टेरियाको संख्या बढ्दै जान्छ । लामो समयसम्म बाँच्ने मानिसहरुमा जवान मानिसको जस्तै स्वस्थ माइक्रोबायोम पाइएको छ । पेटको माइक्रोबायोममा देखिएका परिवर्तनहरू बुढेसकालको संकेत हुन् वा कारण हुन् भन्ने अझै पुष्टि भैसकेकोे छैन । यद्यपि एक अध्ययनले बुढेसकाल लाग्नको लागि माइक्रोबायोमको भूमिका हुने देखाएको छ ।
११. इन्टरसेलुलर सञ्चार
शरीरका कोशिका वा अंगहरू एक्लै बुढो हुँदैनन् । तिनीहरू हर्मोन, साइटोकाइन र मेटाबोलिक उत्पादनहरू मार्फत एकअर्कासँग सञ्चार गर्छन् । पराबायोसिस भनिने विधिबाट युवा र वृद्ध मुसाहरूको रक्त सञ्चार प्रणाली जोडेर गरिएको प्रयोगले यसको पुष्टि गरेको छ । यस प्रयोगले वृद्ध मुसाहरूलाई केही मात्रामा जवान बनाएको थियो भने युवा मुसाहरूले छिटो बुढ्यौलीको संकेत देखाएका थिए । यसले रगतमा पूरै शरीरको बुढ्यौलीमा असर गर्ने तत्वहरू रहेको देखाउँछ । साथै अध्ययनले एउटा तन्तुमा जीवन लम्ब्याउने उपचारले अन्य तन्तुहरूमा पनि बुढ्यौली ढिलाइ गर्न सक्ने र आयु बढाउन सक्ने देखाएको छ ।
(एजेन्सीको सहयोगमा)